काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्य सचिवमा निवेदन दिएका दुई जना सुरुवाती चरणमै अयोग्य देखिएका छन् ।
नयाँ ऐन अनुसार परिषद्को सदस्य सचिवमा दाबी गरेका दुई जना उमेर हदका कारण प्रतिस्पर्धामा अयोग्य देखिएका हुन् ।
पोखराका मनबहादुर गुरुङ र किशोर शाही उमेर हदका कारण सुरुमै अयोग्य देखिएको मन्त्रालय स्रोतले जानकारी दिएको छ । अध्ययनको क्रममा दुवै जनाको उमेर ६० वर्षभन्दा माथि देखिएको मन्त्रालय स्रोतले खेलपाटीलाई बतायो ।
‘दुवै जनाको उमेर ६० वर्षभन्दा बढी देखिएको छ । सोही कारण उहाँहरु छनोट प्रक्रियामा अयोग्य हुनु भएको छ ।’ मन्त्रालय स्रोतले भन्यो ।
खेलकुद विकास ऐनमा ६० वर्षभन्दा माथि उमेरका ब्यक्तिलाई सदस्य सचिव पद रिक्त रहेको मानिने उल्लेख छ।
राखेपको सदस्य सचिवमा २७ जनाले उम्मेदवारी दिएका छन् । निवर्तमान सदस्य सचिव रमेश सिलवालदेखि खेलाडी तथा खेलकुद संघमा आबद्ध पदाधिकारीले राखेपको सदस्य सचिवमा दाबी गरेका छन् ।
प्राप्त निवेदनमाथि मन्त्रालयले गठन गरेको सिफारिस समितिले अध्ययन सुरु गरेको छ । समितिले निवेदकले प्रस्ताव गरेको कार्ययोजनालाई आधार बनाएर छनोट प्रक्रिया अघि बढाएको हो ।
सदस्य सचिव सिफारिस गर्न मन्त्रालयले सचिव रामप्रसाद थपलियाको नेतृत्वमा ईन्दिरा निरौला र रिम रानाभाट सदस्य रहेको कमिटि गठन गरेको थियो ।
कमिटिले गत बिहिबार पहिलो बैठकमार्फत सदस्य सचिव नियुक्तिको कार्यविधि तय गर्दै ७ दिन खुल्ला दर्खास्त आह्वान गरेको थियो ।
समितिले प्राप्त दर्खास्तको अध्ययन गरि तीन जनाको नाम मन्त्रालयमा सिफारिस गर्नेछ । सोही नामलाई मन्त्रालयले मन्त्रीपरिषदमा पेश गर्ने र प्रस्तावित नाम मध्य एक जनालाई मन्त्रीपरिषद्को बैठकले सदस्य सचिवमा नियुक्त गर्नेछ ।
खेलकुद विकास ऐन कार्यान्वयनमा आएसंगै पहिलो पटक सदस्य सचिव खुल्ला प्रतिस्पर्धाबाट नियुक्त गर्न लागिएको हो ।
याे पनि, राखेप सदस्य सचिवका तीन 'हेभिवेट'
र, राखेप सदस्य सचिवमा २७ जनाको निवेदन