काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को छानबिन समितिले कास्की जिल्ला फुटबल संघमा भएको अनियमितताबारे गरेको छानबिन प्रतिवेदन एन्फालाई बुझाएको छ ।
छानबिन समितिले ११ दिन लगाएर गरेको छानबिन प्रतिवेदन शुक्रबार एन्फालाई बुझाएको हो ।
छानबिन समितिका संयोजक तथा केन्द्रिय उपाध्यक्ष वीरबहादुर खड्काले एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पालाई प्रतिवेदन हस्तान्तरण गरे ।
जिल्ला फुटबल संघमाथि आर्थिक अनियमितताको गम्भिर आरोप लागेपछि एन्फाले केन्द्रिय स्तरको छानबिन समिति गठन गरेको थियो ।
एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङ पटक पटक आर्थिक विवाद र ठगीको मुद्धामा मुछिएसंगै जिल्ला फुटबल संघभित्रको अनियमितता बाहिर आएको थियो ।
समितिले एन्फा कास्कीले आयोजना गरेका प्रतियोगिताको हिसाब किताबमा आधारित रहेर छानबिन अघि बढाएका थिए । समितिले ६ वटा प्रतियोगिताका कागजात तथा बिल–भरपाई माग गर्दै अध्ययन गरेको थियो ।
कास्की एन्फाले २०७५ मा आयोजना गरेको मनकामना कप, जिल्ला लिग, जिल्ला स्तरीय अन्तर विद्यालय फुटबल प्रतियोगिता, प्रदेश स्तरीय अन्तर विद्यालय फुटबल प्रतियोगिता तथा पुरुष र महिलाको अन्तर विद्यालय फुटबल प्रतियोगिताको कागजात बुझाएको थियो ।
छानबिन समितिले एन्फा कास्कीमाथि लागेको आर्थिक अनियमिततामा एन्फा नै दोषी रहेको निष्कर्ष निकालेको थियो ।
एन्फाको केन्द्रिय नेतृत्वले जिल्ला फुटबल संघको नियमन र आवश्यक निर्देशन दिन नसक्दा कास्की एन्फाभित्र गम्भिर आर्थिक अनियमितता देखिएको छानबिन समितिले निष्कर्ष निकालेको हो ।