काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्ष गणेश थापा र उनका छोरा अभिषेक थापाले हाम्रो खेलकुद डटकमका सम्पादक प्रकाश तिमल्सिनामाथि दुर्व्यवहार गरेका छन् ।
समाचार संकलनको क्रममा बिहीबार सम्पादक तिमल्सिनामाथि अभद्र ब्यवहार भएको हो ।
नेपाल खेलकुद पत्रकार मञ्चका पूर्व महासचिव समेत रहेका तिमल्सिनालाई बिहिबार साँझ समाचारकाे क्रममा फोन वार्ता गर्ने क्रममा थापाले गाली गलौज सहित अभद्र ब्यवहार गरेका थिए ।
यस्तै थापाका छोरा अभिषेकले पत्रकार तिमल्सिनासँग थापाथलीस्थित कार्यालय परिषरमै गएर वादविवाद गरेका थिए ।
दुर्व्यवहारपछि मञ्चले शुक्रबार एक विज्ञप्ति निकाल्दै घटनाप्रति घोर भर्त्सना गरेको छ ।
'नितान्त समाचार संकलनका लागि गरिएको फोन वार्तालाई लिएर पत्रकार तिमल्सिनामाथि गरिएको अभद्र ब्यवहारको जति निन्दा गरेपनि पुग्दैन । मञ्च आफ्ना सदस्यप्रति गरिएको यस अभद्र ब्यवहारको घोर भर्त्सना र निन्दा गर्दछ,' मञ्चले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
अहिलेको विषम परिस्थतिमा आफ्ना सम्पूर्ण सदस्यहरुको भौतिक सुरक्षा प्रति यस घटनाले गम्भिर ध्यानकर्षण गराएको भन्दै मञ्चले घटनाप्रति नेपाल सरकार, नेपाल पत्रकार महासंघ, अन्तर्राष्ट्रिय खेलकुद पत्रकार महासंघ (एआईपीएस) र एआईपीएस एसियाको समेत ध्यानाकर्षण गराएको छ ।
'यस घटना प्रेस तथा अभिब्यक्ति स्वतन्त्रता माथिको प्रहार भएको हुँदा मुक दर्शक भएर बस्न सकिन्न । साथै मञ्च सरकारसँग सम्पूर्ण खेलकुद पत्रकारहरुको सुरक्षा प्रत्याभूति गर्न माग पनि गर्दछ,' मञ्चले विज्ञप्तिमा भनिएको छ ।