काठमाडौं । राष्ट्रिय खेलकुद परिषदको नयाँ सदस्य सचिवका लागि शारिरीक सुगठन खेलका रोशन महर्जनले निवेदन दर्ता गराएका छन् ।
उनी राखेपको सदस्य सचिवमा उम्मेदवारी दिने पहिलो व्यक्ति पनि हुन् । उनले पहिलो नम्बरमा निवेदन दर्ता गरेका छन् ।
खेलकुद विकास ऐन २०७७ लागु भई सदस्य सचिवका लागि दरखास्त आव्हान गरे पश्चात उक्त पदका लागि महर्जनले निवेदन दिएका हुन् ।
महर्जन २०५० सालबाट नेपाली खेलकुदमा सक्रिय छन् । नेपालकै सवै भन्दा पुरानो खेल संस्था नेपाल ब्यायाम मन्दिरमा विगत १० वर्षबाट कार्यसमितिमा रहेर खेल, खेलाडी र खेलकुद विकासमा लाग्दै आएका छन् ।
कराते खेल (सितेरियो) खेलाडीका रुपमा खेलकुदमा लागेका उनी ४८ सालबाट शारिरीक सुगठन लागेका हुन् ।
उनले ५० सालमा पाटनको पहिलो जिम खाना नाईन प्वाईन्ट हेल्थ क्बलबाट औपचारिक रुपमा शारिरीक सुगठनका खेलाडी हुँदै विभिन्न प्रतियोगितामा उपाधि जितिसकेका छन् ।
राजनीतिक हस्तक्षेप नभई स्वतन्त्र रुपमा सदस्य सचिवको छनोट हुने हो भने आफु स्वतः सदस्य सचिवमा छनोट हुने महर्जन बताउँछन् ।
२०७० सालमा शारीरिक सुगठनको राष्ट्रिय निर्णायकको लाईसेन्स लिएका महर्जनले ईन्टरनेशनल फेडेरेशन अफ बडिबिल्डिङ्ग अन्तरगनको नेप्लिज फेडेरेशन अफ बडिबिल्डिङ्ग एण्ड फिटनेशद्वारा आयोजना गरिएको दक्षिण एशियाली शारीरिक सुगठन प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरि सकेका छन् ।
हाल उनी दक्षिण एशियाली शारीरिक सुगठन संघको निर्णायक कमिटिको अध्यक्ष समेत रहेका छन् । महर्जनले आफु सदस्य सचिवमा नियुक्त भएमा खेलकुदको विकास गर्ने अवधारण प्रस्तुत गरेका छन् ।