काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्य सचिव पदमा भलिबलका पूर्व महिला खेलाडीद्धय निलम बज्राचार्य र अन्जु श्रेष्ठले आवेदन दिएका छन् ।
नयाँ खेलकुद विकास ऐन कार्यान्वयनमा आएसंगै भलिबलका पूर्व राष्ट्रिय खेलाडीद्धय निलम र अन्जुले सदस्य सचिव पदमा आवेदन दिएका हुन् ।
उनीहरुले बुधबार आफ्नो कार्ययोजना सहित राखेपको सदस्य सचिव पदका लागि दर्खास्त हालेका छन् ।
खेलकुद क्षेत्रमा महिला नेतृत्वको अभाव खट्किरहेको समय निलम र अन्जुले आफ्नो दाबी पेश गरेका हुन् ।
निलमले २०४४ सालमा थाईल्याण्डसंगकाे अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालको राष्ट्रिय महिला टिमको प्रतिनिधित्व गरेकी थिईन् । उनले अन्तराष्ट्रिय प्रतियोगिता नहुने सुरुवाती चरणमा बाग्मतीबाट विभिन्न राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागीता जनाएकी छिन् ।
महिला भलिबल टिमकी पूर्व कप्तान अन्जुले भने आठौं र दसौं साग खेलकुदमा देशको प्रतिनिधित्व गरेकी छिन् ।
परिषद्को सदस्य सचिवमा निवेदन दिदै पूर्व राष्ट्रिय भलिबल खेलाडी निलम बज्राचार्यले ऐनले दिएको अधिकारलाई आफुले सदुपयोग गरेको बताईन् ।
'महिला पनि सक्षम छन् भन्ने उद्धेश्यले सदस्य सचिवमा दाबी पेश गरेको हो । ऐनले अवसर दिएको छ । त्यसैलाई सदुपयोग गर्दै सदस्य सचिवमा मेरो दाबी रहन्छ ।' उनले भनिन् ।
बज्राचार्यले आफ्नो निवेदनले नयाँ पुस्ताका महिला खेलाडीलाई नेतृत्व तहमा पुग्न आत्मविश्वास पैदा गर्ने विश्वास ब्यक्त गरिन् ।
नयाँ ऐन कार्यान्वयनमा आएसंगै पहिलो पटक खुल्ला प्रतिस्पर्धाबाट सदस्य सचिव चयन हुन लागेको छ ।
मन्त्रालयले गठन गरेको छनोट समितिले गत बिहिबार ७ दिनको म्याद राख्दै खुल्ला दर्खास्त आह्वान गरेको थियो ।