पोखरा । कास्की जिल्ला फुटबल संघमाथि लागेको आर्थिक अनियमितताको आरोपमा अखिल नेपाल फुटबल संघ (एन्फा)नै जिम्मेवार देखिएको छ ।
एन्फाको केन्द्रिय नेतृत्वले जिल्ला फुटबल संघको नियमन र आवश्यक निर्देशन दिन नसक्दा कास्की एन्फाभित्र गम्भिर आर्थिक अनियमितता देखिएको छानबिन समितिले निष्कर्श निकालेको छ ।
जिल्ला फुटबल संघभित्र देखिएको आर्थिक अनियमितता र भ्रष्टचारबारे छानबिन गर्न एन्फाले समिति गठन गरेको थियो । समितिले ११ दिन लगाएर अनुसन्धान गर्दै सोमबार पत्रकार सम्मेलन मार्फत जिल्ला फुटबल संघको आर्थिक अवस्थाबारे जानकारी गराएको हो ।
एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङ पटक पटक आर्थिक विवाद र ठगीको मुद्धामा मुछिएसंगै जिल्ला फुटबल संघभित्रको अनियमितता बाहिर आएको थियो ।
छानबिन समितिका सदस्य विष्णु प्रसाद पराजुलीले अनुसन्धानको क्रममा एन्फा कास्कीमा नियमपूर्वक काम नभएको देखिएको बताएका छन् । उनले बार्षिक रुपमा अडिट नगर्ने जिल्ला फुटबल संघको सदस्यता केन्द्रले नविकरण गर्दा समस्या उत्पन्न भएको बताए ।
‘प्रतियोगिताका आम्दानी १५ दिनभित्र सार्वजनीक गर्नुपर्ने हो, तर एन्फा कास्कीले गरेको छैन ।’ उनले भने, ‘एक बर्षभित्र जिल्ला फुटबल संघले अडिट गर्नुपर्ने हो । तर अडिट बिनै केन्द्रले जिल्ला संघलाई निरन्तरता दिएको छ ।’
छानबिन समितिले तत्काल जिल्ला फुटबल संघको साधारण सभा गरेर अडिट रिपोर्ट तयार गर्न केन्द्रिय एन्फालाई निर्देशन दिएको छ । यस्तै, भद्रगोल अवस्थाबाट सञ्चालन भएको जिल्ला फुटबल संघलाई व्यवस्थित बनाउन कार्यालय सञ्चालनमा ल्याउन समेत समितिले निर्देशन दिएको छ ।
समितिले एन्फा कास्कीलाई जिल्ला लिग विजेतालाई १५ दिनभित्र पुरस्कार रकम उपलब्ध गराउन र रेफ्री कोर्सको ४५ हजार रुपैयाँ साउन १ गतेभित्र भुक्तानी गर्न निर्देशन दिएको छ ।
समितिले विभिन्न प्रतियोगिताको हिसाब किताबमा केन्द्रित रहेर जिल्ला फुटबल संघको आर्थिक गतिबिधिबारे अनुसन्धान गरेको जनाएको छ ।
मनकामना कपमा २९ लाख नोक्सान
छानबिन समितिले मनकामना कपमा २९ लाख १७ हजार २ सय ९० रुपैयाँ नोक्सान भएको देखिएको छ ।
अनुसन्धानको क्रममा ७५ सालमा आयोजना गरिएको प्रतियोगितामा ९२ लाख ९८ हजार १ सय ६४ रुपैयाँ खर्च र ६३ लाख ८० हजार ८ सय ७४ आम्दनी देखिएको हो ।
प्रतियोगिता सञ्चालन गरेर ३७ वटा संस्थालाई २४ लाख १९ हजार ९ सय ७४ रुपैयाँ दिन बाँकी देखिएको छानबिन समितिले बताएको छ ।
यस्तै, जिल्ला लिग सञ्चालनमा ३ लाख ५० हजार रुपैयाँ आम्दानी र ३ लाख ११ हजार रुपैयाँ खर्च देखिएको छ ।