काठमाडौं । नेपालमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा कराते कातातर्फ दोहोरो स्वर्णपदक विजेता खेलाडी मण्डेकाजी श्रेष्ठलाई मध्यपुर थिमी नगरपालिकाले दराज उपहार दिएको छ ।
नगरपालिकाले सोमबार दोहोरो स्वर्णधारी मण्डेकाजीलाई दराज प्रदान गरेको हो । नगरपालिकाका मेयर मदन सुन्दर श्रेष्ठले दराजको चावी मन्डेकाजीलाई हस्तान्तरण गरेका थिए ।
खेलकुदमार्फत नगरपालिकाको नाम देशभर चिनाएको र नगरपालिकाको पहिचान बनाएको भन्दै मध्यपुर थिमी वडा नम्बर ४ निवासी मण्डेकाजीलाई सजावटसहित दराज उपहार प्रदान गरेको हो ।
दराज र डेकोरेसेनसहित झन्डै ३ लाख रुपैयाँ खर्च भएको नगरपालिकाले जनाएको छ ।
‘म मन्डेको घर आउदा उनले जितेको मेडल, प्रमाण पत्र टेकन अफ लभ लगायतका सामानहरु छरपस्ट भएको देखे । जितेका मेडलहरु पोको पारेर राखेको देखियो । पदकलाई सजाएर राख्नुपर्छ भन्ने सोचेर दराजको डेकोरेसन गर्ने व्यवस्था मिलाएको हो,’ मेयर मदन सुन्दर श्रेष्ठले भने ।
यसअघि नगरपालिकाले दोहोरो स्वर्ण जितेका मण्डेकाजीलाई ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ नगदसहित सम्मान पनि गरेको थियो ।
दोहोरो स्वर्ण जितेका मण्डेले नेपाल सरकारबाट २२ लाख रुपैयाँ प्राप्त गरेका थिए । यसैगरी प्रदेश सरकार र नेपाल प्रहरी क्लबले पनि उनलाई सम्मान गरेका थिए ।
कार्यक्रममा वडा नम्बर ४ का अध्यक्ष कुमार श्रेष्ठ, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, सागका कराते प्रशिक्षक गंगाराम महर्जन, मण्डेकै पहिलो कराते प्रशिक्षक सजन श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।