काठमाडौं । एथ्लेटिक्सका सहायक प्रशिक्षक रबिनकुमार राई ‘ब्रेन ट्युमर’ रोगबाट थलिएका छन् ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)का अस्थायी प्रशिक्षक राई ब्रेन ट्युमरको शल्यक्रिया पुरा गरेर क्यान्सरसंग लडिरहेका छन् ।
सल्यान स्थायी घर भएका राईले २०५२ सालदेखि सहायक प्रशिक्षकको रुपमा काम गर्दै आएका छन् ।
मोफसलमा रहेर एथ्लेटिक्सका खेलाडी उत्पादनमा राईले महत्वपूर्ण योगदान गर्दै आएको एथ्लेटिक्स संघका पूर्व महासचिव तथा मुख्य प्रशिक्षक शुशील नरसिंह राणा बताउछन् ।
‘उनले सल्यानमा बसेर लामो समयदेखि काम गरिरहेका छन् । एथ्लेटिक्स गतिविधिमा सहयोग पुर्याउँदै आएका ब्यक्ति हुन् ।’ राणाले खेलपाटीसंग भने, ‘मुलधारको एथ्लेटिक्समा आउने खेलाडी जन्माएका छन् । उनी मोफसलमा बसेर दुख गरेको मान्छे हुन् ।’
दक्षिण एसियाली खेलकुद सागमा पदकधारी खेलाडी पुष्पा भण्डारी प्रशिक्षक राईकै उत्पादन हुन् । २०६८ सालको राष्ट्रिय खेलकुद प्रतियोगिताबाट घरेलु एथ्लेटिक्समा उदाएकी पुष्पालाई राईलेनै प्रशिक्षण दिएका थिए ।
मोफसलमा बसेर खेलाडी उत्पादनमा योगदान गर्दै आएका राई पछिल्लो समय क्यान्सरसंग जुधिरहेका छन् ।
बैशाखको अन्तिममा टाउकोमा समस्या भएपछि राईलाई सल्यानबाट नेपालगञ्ज मेडिकल कलेज लगिएको थियो । चिकित्सकले ब्रेक ट्युमरको बताएपछि राईको काठमाडौंस्थित अन्नपूर्ण न्युरो हस्पिटलमा सल्यक्रिया गरिएको थियो ।
ब्रेक ट्युमरको सल्यक्रिया भएपनि राईलाई क्यान्सर देखिएको छ । उनको भक्तपुरस्थित काठमाडौं क्यान्सर सेन्टरमा उपचार भईरहेको छ ।
पछिल्लो दुई हप्तादेखि भक्तपुरमा उपचार गराईरहेका राईको एक हात र एक खुट्टा चल्दैन ।
‘चिकित्सकले ब्रेन ट्युमर चौथो अवस्थमा पुगेको बताएका छन् । एक हात र एक खुट्टा चल्दैन । नियमित रुपमा थेरापी गर्दै उपचार गरिरहेका छौ ।’ राईकी श्रीमती मञ्जु राईले खेलपाटीसंग भनिन् ।
सहयोगको अपिल
राईको परिवारले आर्थिक अवस्था कमजोर रहेको भन्दै सहयोगको अपिल गरेको छ । प्रारम्भिर उपचारमै धेरै रकम सकिएको भन्दै परिवारले सार्वजनीक रुपमा सहयोगको अपिल गरेको हो ।
‘ऋण सापटी गरेर लिएको पैसा सकिएको छ । बचत पनि थिएन । उपचार गर्न कठिन भएको छ ।’ राईकी श्रीमती मञ्जुले भनिन् ।
राईका एक छोरा र एक छोरी छन् । उनका छोरा दुवै आखाँ देख्दैनन् । छोराको आखाँकै उपचार गर्दै आएका राई पछिल्लो समय आफै ‘ब्रेक ट्युमर’बाट थलिएका हुन् ।
‘उहाँले सम्पूर्ण जिवन खेलकुदमै ब्यतित गर्नुभयो । कठिन अवस्थामा खेलकुद क्षेत्रबाट सहयोगको अपेक्षा राखेका छौ ।’ मञ्जुले खेलपाटीसंग भनिन् ।