काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्य सचिव सिफारिस गर्न तीन सदस्यीय समिति गठन गरेको छ ।
मन्त्रीस्तरीय निर्णय अनुसार बिहिबार युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले मन्त्रालयका सचिवको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरेका हुन् ।
युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलिया संयोजक रहेको समितिमा पूर्व बोर्ड सदस्य ईन्दिरा निरौला र पूर्व कर्मचारी रिम रानाभाटलाई बिज्ञको रुपमा सदस्य नियुक्त गरिएको छ ।
खेलकुद विकास ऐन अनुसार सदस्य सचिव नियुक्तिको सिफारिस गर्न मन्त्रालयको सचिवको संयोजकत्वमा एक महिला सहित दुई बिज्ञ रहेको समिति गठन गर्ने ब्यवस्था छ ।
सिफारिस समितिको शुक्रबार बसेको पहिलो बैठकले सदस्य सचिव नियुक्तिको कार्यविधि समेत तय गरेको छ ।
समितिले तयार गरेको कार्यविधि अनुसार खुल्ला आवेदनका लागि ७ दिनको समय उपलब्ध गराईएको छ । ईच्छुक उम्मेदवारले तोकिएको म्यादभित्र आफ्नो योजना मन्त्रालयमा दर्ता गराउनुपर्नेछ ।
प्राप्त भएका कार्ययोजनालाई समितिले गठन रुपमा अध्ययन गरि कम्तिमा एक महिला सहित तीन जनाको नाम मन्त्रालयमा सिफारिस गर्नेछ । बैठकले निर्णय गरेका तीन जनाको नामलाई मन्त्रालयले मन्त्रीपरिषद्मा सिफारिस गर्ने कार्यविधिमा उल्लेख गरिएको छ ।
खेलकुद विकास ऐन कार्यान्वयनमा आएसंगै पहिलो पटक खुल्ला प्रतिस्पर्धाबाट सदस्य सचिव छनोट गर्न लागिएको हो । यसअघि खेलकुद मन्त्रीले ईच्छाएको ब्यक्तिलाई सिधै सदस्य सचिव नियुक्ति गर्न मिल्ने ब्यवस्था रहेको थियो ।