काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद (राखेप) को सदस्य सचिव नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ ।
मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै राखेप सदस्य सचिवका लागि दरखास्त आह्वान गरेको हो । यससँगै राखेपको नयाँ सदस्य सचिव नियुक्तिको प्रक्रिया अघि बढेको छ ।
राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा १७ को उपदफा (२) बमोजिम सदस्य सचिव नियुक्तिको लागि दरखास्त आह्वान गरिएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले योग्यता पुगेका उम्मेदवारले सात दिन भित्र निवेदन पेश गरिसक्नु पर्ने जनाएको छ ।
नयाँ खेलकुद विकास ऐन २०७७ कार्यान्वयनमा आएसंगै राखेपका सदस्य सचिव रमेश सिलवाल सहितका पदाधिकारीको नियुक्ति खारेज भएको थियो ।
यस्तै मन्त्रालयले भक्तबहादुर ढकाललाई कार्यवाहक सदस्य सचिव नियुक्त गरेको थियो ।