काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली सेनाको मुख्यालय भद्रकालीमा रहेको फुटबल मैदानमा अन्तर्राष्ट्रिय स्तरको चेन्जिङ रुम निर्माण गरेको छ ।
सेनाको जंगी अड्डा अगाडी रहेको मैदानको भीभीआईपी प्यारापिटमुनि रहेको २ वटा खेलाडी चेन्जिङ रुम र रेफ्री चेन्जिङ रुमलाई एन्फाले सुविधासम्पन्न बनाएको हो ।
उक्त मैदानलाई ट्रेनिङ मैदानको रुपमा प्रयोग गर्ने भएपछि एन्फाले चेन्जिङ रुमसहित अन्य आवश्यक पूर्वाधारको निर्माण गरेको हो ।
एन्फाले खेलाडी चेन्जिङ रुमलाई कार्पेट, रंग रोगन गर्नुका साथै खेलाडीलाई आवश्यक पर्ने व्यक्तिगत लकरसहित ड्रयर, फिजियोथेरापी बेड, फ्रिज राखेको छ । यस्तै रेफ्री चेन्जिङ रुममा व्यक्तिगत लकरसहित ड्रयर, सोफा टेबल लगायत आवश्यक सामग्री उपलब्ध गराएको छ ।
एन्फाले उक्त निर्माणका लागि करिब १५ लाख खर्च भएको जनाएको छ । एन्फाले खेलाडी बक्ससहित अन्य पूर्वाधार समेत निर्माण गरिने जनाएको छ ।
यस्तै मैदान हेरचारको काम एन्फाले गर्नेछ ।
एन्फाले शुक्रबार सेनालाई चेन्जिङ रुम हस्तान्तरण गरेको छ । यस्तै एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा र प्रधानसेनापति पूर्णचन्द्र थापाबीच मैदान प्रयोगका लागि सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
एन्फाले फिफा विश्वकप र एसियन कप छनोट अन्तर्गत घरेलु भूमिमा हुने खेलका लागि आउने विदेशी टोलीले यस मैदानमा प्रशिक्षण गर्ने जनाएको छ ।
विश्वकप छनोटको दोस्रो चरणको खेल खेलिरहेको नेपालले अब तीन खेल खेल्न बाँकी रहेको छ ।
नेपालले आगामी असोजमा अष्ट्रेलिया ,जोर्डन र चाईनिज ताईपेसँग घरेलु मैदानमा खेल्दैछ । नेपाल भ्रमण गर्दा तीनै विदेशी टोलीले यस मैदानमा प्रशिक्षण गर्ने छन् ।
छनोटको समूह 'बी' मा रहेको नेपालले अवे खेल खेलिसकेको छ ।
छनोट अन्तर्गत नेपाल पहिलो लेगको खेलमा कुवेतसंग ७–० र दोस्रो लेगमा १–० ले पराजित भएको थियो । यस्तै, अष्ट्रेलियासँग ५–० र जोर्डनसंग ३–० ले पराजित भएको थियो ।
अवे खेल अन्तर्गत नेपालले चाईनिज ताईपेलाई २–० ले हराएको थियो ।