काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्रका सहिद स्मारक 'ए' डिभिजन लिगका ६ क्लबलाई अनुदान रकम वितरण गरेको छ ।
महानगरपालिकाले सोमबार एक कार्यक्रमकाबीच ६ क्लबलाई समान १०/१० लाख अनुदान रकम प्रदान गरेको हो ।
महानगर प्रमुख विद्यासुन्दर शाक्यले क्लबका पदाधिकारीलाई १० लाखको चेक प्रदान गरेका थिए ।
अनुदान रकम पाउने क्लबमा लिग च्याम्पियन मछिन्द्र क्लब, संकटा, हिमालयन शेर्पा, मनाङ मर्स्याङ्दी, काठमाडौं खेल मण्डल (एनआरटी) र सरस्वती युथ क्लब रहेका छन् ।
महानगरले आफ्नो क्षेत्रभित्रका ए डिभिजन क्लबलाई वार्षिक १० लाख उपलब्ध गराउदै आएको छ । सोही अनुसार महानगरले यस वर्ष समेत क्लबलाई अनुदान रकम उपलब्ध गराएको हो ।
महानगरले यस अघि 'ए' सहित 'बी' र 'सी' डिभिजन क्लबलाई समेत वार्षिक अनुदान उपलब्ध गराउदै आएको थियो ।
महानगरले 'बी' लाई ३ लाख र 'सी' क्लबलाई २ लाख रुपैयाँ अनुदार वितरण गर्दै आएको छ ।
तर, यस वर्ष कोरोनाका कारण कार्यक्रम प्रभावित बनेपछि 'बी' र 'सी' क्लबले भने अर्को वर्ष रकम प्राप्त गर्नेछन् ।