काठमाडौं । नेपाल बक्सिङ संघले विभिन्न समाचार माध्यममा आएको संघ भित्र आर्थिक अनियमितता भएको समाचारमा सत्यता नभएको बताएको छ ।
संघले बिहीबार एक प्रेस विज्ञप्ति निकाल्दै विभिन्न अनलाईन मिडियामा आएको आर्थिक अनियमितता, विधान मिचिएको र बक्सिङको स्तर खुम्चिएको समाचारमा सत्यता नभएको जनाएको हो ।
संघले समाचारको खण्डन गर्दै प्रकाशित समाचारमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
'केहि अनलाईन मिडियाहरुबाट नेपाल बक्सिङ संघमा आर्थिक अनियमितता भएको, विधानको मिचिएको, बक्सिङको स्तर खुम्चिएको भन्ने समाचार प्रकाशित भएको हुदा सो सम्बन्धमा संघको गम्भीर ध्यानाकर्षण भएको छ,' प्रवक्ता श्यामकाजी अवालेले जारी गरेको विज्ञप्तिमा भनिएको छ', 'यस सम्बन्धमा प्रकाशित समाचारमा कुनै पनि सत्यता नभएको कुराखेल सम्बद्द निकायहरुमा हार्दिक अनुरोध गर्दछु ।'
संघले आफ्नो संस्था स्वायत्त संस्था भए पनि यसले गर्ने हरेक गतिबिधिहरुमा नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय,राष्ट्रिय खेलकुद परिषद्को निर्देशन चल्ने कारण आर्थिक लगायत सम्पूर्ण गतिबिधिहरु पारदर्शी हुने दाबी गरेको छ ।
'राष्ट्रिय खेलकुद परिषद् खेलकुद बिकास ऐन अन्तर्गत गठित नेपाल बक्सिङ संघका आर्थिक लगायत सम्पूर्ण गतिबिधिहरु पारदर्शी छन् । यस सम्बन्धमा सघं जहिले पनि खुला छ, हरेक पक्षको सत्य–तथ्य जानकारी दिन हामी तयार छौं,' विज्ञप्तिमा भनिएको छ ।
यस्तै १३ औं दक्षिण एसियाली खेलकुदमा नेपालले बक्सिङ इतिहासकै सर्वाधिक ३ स्वर्ण, ६ रजत, र ६ कास्य पदकको जितेको भन्दै बक्सिङको स्तर खुम्चिएको भन्ने कुरामा सत्यता नभएको पनि जनाएको छ ।
संघले संघबाट स्पष्टिकरण सोधिएका केहि पदाधिकारीहरु र बक्सिङको विकास नचाहने व्यक्तिहरुको भनाइलाई आधार मानी बनाईएको झुठा समाचारले खेलाडी,प्रशिक्षकको मनोबल गिराउने काम गरेको भन्दै सत्य तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न समेत आग्रह गरेको छ ।