काठमाडौं । नयाँ खेलकुद ऐन कार्यान्वयनमा आए लगत्तै अन्यौलता सुरु भएको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)का वर्तमान पदाधिकारीको विषयमा ऐनमा स्पष्ट उल्लेख नभएको भन्दै सदस्य सचिव रमेशकुमार सिलवालले आफ्नो भूमिका स्पष्ट पार्न युवा तथा खेलकुद मन्त्रालयसँग आग्रह गरेका छन् ।
‘नयाँ खेलकुद ऐनले समेत २०४८ बमोजिम भएका कामलाई यसै ऐनमा बमोजिम भएको मानिनेछ भनेर उल्लेख गरेको छ । सोही कारण कामलाई निरन्तरता दिन समस्या छैन । अर्को कुरा मलाई चार बर्षका लागि मलाई नियुक्ती दिईएको छ, अझै तीन वर्षको समय बाँकी छ । सोही कारण मन्त्रालयलाई ऐनको विषय स्पष्ट पार्नुस भनेको छु ।’ सदस्य सचिव सिलवालले खेलपाटीसंग भने ।
नयाँ ऐन अस्पष्टता देखिएको भन्दै उनले स्पष्टसँग आफ्नो जिम्मेवारी तोक्न माग गरेका छन् । उनले मन्त्रालयबाट पत्र प्राप्त नभएसम्म सदस्य सचिवको जिम्मेवारीमा नफर्कने समेत बताएका छन् ।
‘नयाँ ऐन अनुसार नियुक्ती गर्ने हो भने पनि मलाई आपत्ति छैन । म भन्दा अर्को उपयुक्त भए राख्दा समेत समस्या छैन । तर पत्र नपाएसम्म काम गर्दिन ।’ उनले भने ।
सदस्य सचिव सिलवालले ऐनले अन्यौलता देखिएको भन्दै प्रष्टसँग नखेल्दा समस्या आएको बताए । उनले मन्त्रालयले यस बिषयमा चाँडो निर्णय लिनुपर्ने बताए ।
‘जे गर्र्नुस छिटो गर्नुस भनेको छु । ऐनमै अन्यौलता देखिएकाले भोली गरेका काम कारबाही बदर हुन्छ । यसरी काम गर्दा मज्जा हुदैन ।’ उनले भने ।
नयाँ खेलकुद ऐनको ५८ को (२)मा २०४८ बमोजिम भए गरेका काम कारबाही यसै ऐन बमोजिम भए गरेको मानिनेछ उल्लेख छ ।
तर सदस्य सचिव सिलवालले सो उपधाराको फरक फरक ब्याख्या हुन सक्ने भन्दै मन्त्रालय स्पष्ट हुनुपर्ने बताए ।
‘अन्य ऐनमा प्रष्टसंग लेखिएको हुन्छ । सोही कारण फरक फरक ब्याख्या गरेर हुदैन ।’ उनले भने, ‘असार मसान्त छ । धेरै काम गर्नुपर्ने हुन्छ । मन्त्रायले चाँडो स्पष्ट पार्नपर्छ ।’