काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नेपाल क्रिकेट संघ क्यानको कार्यसमिति सदस्यमा छुम्बी लामा र धर्मराज गिरीलाई मनोनयन गरेको छ ।
क्रिकेट संघको विधान अनुसार राखेपबाट सिफारिस हुने दुई सदस्यमा परिषद्ले लामा र गिरीलाई मनोनयन गर्दै सिफारिस गरेको हो ।
परिषद्को सदस्य सचिव स्तरीय निर्णय अनुसार असार १० गतेनै लामा र गिरीलाई क्यानको कार्यसमिति सदस्यमा सिफारिस गर्ने निर्णय भएको थियो ।
परिषद्ले मंगलबार दुवैलाई मनोनयनको पत्र दिएको हो ।
टंक आङबुहाङ नेतृत्वको क्यानमा लामा कर्मचारीको रुपमा प्रवेश गरेका थिए । क्यान निलम्बन रहेको अवस्थामा लामाले चिफ अपरेटिङ अफिसर (सिओओ)को रुपमा राम्रो छाप छाडेका थिए ।
उनी पछिल्लो समय क्विन्स ईभेन्ट म्यानेजमेन्टको प्रबन्ध निर्देशकको रुपमा दुई फ्रेन्चाईज क्रिकेट प्रतियोगिता पोखरा प्रिमियर लिग (पीपीएल) र वुमन्स च्याम्पियन्स लिग (डब्लूसीएल) सञ्चालन गर्दै आएका छन् ।
अर्का, सदस्य गिरी भने राष्ट्रिय क्रिकेट टिमका पूर्व खेलाडी हुन् । रुपन्देहीबाट प्रतिनिधित्व गर्ने गिरी नेकपाको मदन भण्डारी स्पोर्ट्स एकेडेमीका क्रिकेट विभागका उपाध्यक्ष समेत रहेका छन् ।