काठमाडौं । राष्ट्रिय खेलकुद विकास ऐन असार १७ बाट कार्यान्वयनमा आउने भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीबाट असारको दोस्रो साता प्रमाणीकरण भएको विधेयक असार १७ बाट कार्यान्वयनमा आउने भएको हो ।
संघीय संसदको प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट पारित भएको विधेयकलाई राष्ट्रपति भण्डारीले असार ११ गते प्रमाणिकरण गरेकी थिईन् ।
‘ऐन प्रमाणिकरण भएको सातौं दिनबाट लागु हुने उल्लेख छ । सोही अनुसार असार १७ गतेबाट ऐन कार्यान्वयनमा आउनेछ ।’ युवा तथा खेलकुद मन्त्रालयका प्रवक्ता मानबहादुर वीकेले खेलपाटीसंग भने ।
खेलकुद विकास ऐन २०४८ लाई संशोधन गर्दै सरकारले नयाँ ऐन कार्यान्वयन ल्याएको हो । खेलकुद क्षेत्रलाई थप ब्यवस्थित बनाउन भन्दै सरकारले लामो समयदेखि नयाँ ऐन निर्माणको गृहकार्य गरिरहेको थियो ।
‘कानुन मन्त्रालयमा चिठी आएको छैन । लिने प्रयास गरिरहेका छौ । तर ऐन प्रमाणिकरण भएको सातौं दिनबाट लागु हुने भएकाले कार्यान्वयनको गृहकार्य गरिरहेका छौ ।’ वीकेले भने ।
प्रवक्ता वीकेका अनुसार ऐन कार्यान्वयनका लागि मन्त्रालयले आन्तरिक गृहकार्य गरिरहेको छ ।
‘कुन बुँदा कसरी कार्यान्वयन लागु गर्ने भन्ने बिषय छलफल भईरहेको छ । ऐनले स्पष्ट रुपमा बोलेको बिषय तत्काल लागु हुन्छ । नियमावली अनुसार हुने बिषय कार्यान्वयन हुन केही समय लाग्छ सक्छ ।’ उनले भने ।
ऐन पूर्ण रुपमा कार्यान्वयन हुन केही समय लाग्ने मन्त्रालयको बताएको छ । सोही अनुसार ऐनको नियमावली बनाउन मन्त्रालय समिति गठनको तयारीमा छ ।
समितिले विभिन्न खेल संघ र सरोकारवाला निकायसंग छलफल गरेर ऐनले उल्लेख गरे अनुसारको नियमावली बनाउने छ ।
‘ऐन पूर्ण रुपमा लागु हुन नियमावली बनाउन पर्छ । समिति बनाएर नियमावली नयाँ बनाउनतर्फ लागिरहेको छौ । परिमार्जन भनिएपनि ऐन अनुसार नयाँ नियमावली बन्नेछ ।’ प्रवक्ता वीकेले भने ।