काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले वरिष्ठ उपाध्यक्ष पंकज बिक्रम नेम्वाङ्ग र सदस्य दावा लामाको जिम्मेवारी खोसेको छ ।
एन्फाले संस्थाको पदपूर्ती समिति र सदस्य समन्व्य समितिका संयोजककाे भूमिकामा रहेका नेम्वाङ्ग र फुटसल कमिटिका संयोजक रहेका दावा लामालाई बाहिर राख्दै जिम्मेवारी हेरफेर गरेकाे हाे ।
एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले उपाध्यक्ष शिक्षित पराजुलीलाई पदपूर्ती समिति र उपाध्यक्ष वीरबहादुर खड्कालाई सदस्य संस्था समन्व्यको जिम्मेवारी दिएका छन् ।
यस्तै, फुटसल कमिटिको जिम्मेवारी कार्यसमिति सदस्य रतनकुमार श्रेष्ठले पाएका छन् ।
नेम्वाङ्ग र लामाले पछिल्लो समय एन्फा नेतृत्वविरुद्ध फरक मत राख्दै आएका थिए ।
नेतृत्वलाई असहयोग गर्दै आएका दुवै जनालाई समितिबाट बाहिर राख्दै एन्फाले समितिमा नयाँ नेतृत्व ताेकेकाे हाे ।
एन्फा महासचिव ईन्द्रमान तुलाधरले अध्यक्षको आफ्नो अधिकार प्रयोग गर्दै दुवै जनालाई समितिबाट बाहिर राखिएको जानकारी दिए ।
'अध्यक्षले हेरफेर गर्नुभएको हो । कार्यसमितिले अधिकार अध्यक्षलाई दिएको छ । साेही अनुसार जिम्मेवारी हेरफेर भएकाे हाे ।' तुलाधरले भने ।
लामाको नेतृत्वमा फुटसल कमिटि गठन भएको दुई बर्ष बितेपनि कुनै कार्यक्रम तथा प्रतियोगिता सञ्चालन हुन सकेको थिएन ।
पदपूर्ती कमिटिबाट समयमै काम हुन नसकेपछि एन्फा अध्यक्ष असन्तुष्ट रहदै आएको एन्फा स्रोत बताउँछ । सोही कारण तीनवटै कमिटिबाट नेम्बाङ्ग र लामालाई हटाउँदै नयाँ व्यक्तिलाई जिम्मेवारी तोकिएको हो ।
वरिष्ठ उपाध्यक्ष नेम्बाङ्ग र लामा पछिल्लो समय एन्फा नेतृत्वसंग रुष्ट रहदै आएका छन् ।
एन्फाको मानार्थ अध्यक्ष र भक्तपुर जिल्लाको बिषयमा निर्णय लिन गत सोमबारको बोलाईएको आपतकालिन समितिको बैठकमा समेत वरिष्ठ उपाध्यक्ष नेम्बाङ्ग अनुपस्थित रहेका थिए । स्वास्थ्यको कारण देखाउँदै उनले मंगलबारको कार्यसमितिको आकस्मिक बैठकमा समेत उपस्थित भएनन् ।
कार्यसमितिमा हरेक जसो बैठकमा वरिष्ठ उपाध्यक्षले फरक मत राख्न थालेपछि एन्फा अध्यक्षसंग नेम्बाङ्गको दुरी बढेको छ । जिम्मेवारी हेरफेरको पछिल्लो निर्णय त्यसैको शिलशिला हो ।