काठमाडौं । खेल मिलेमतोको आरोपमा देशको सर्वोच्च न्यायिक अदालतबाट सफाई पाएका राष्ट्रिय फुटबल टिम पूर्व कप्तान सागर थापाले आफुमाथि लागेको आजिवन प्रतिबन्धको निर्णय फुकुवा गर्न अपिल गर्ने बताएका छन् ।
मंगलबार सर्वोच्चबाट सफाई पाएका पूर्व कप्तान थापाले एसियाली फुटबल महासंघ (एएफसी)ले आफु सहित ६ फुटबलरमाथि लगाएको आजिवन प्रतिबन्ध फुकुवा गर्न अपिल गर्ने बताएका हुन् ।
‘अदालतको निर्णयसंगै एन्फामाथि दायित्व आएको छ । फुटबलको अभिभावक संस्थाको हिसाबले एन्फामार्फत एएफसीमा अपिल गर्न पहल गछौ ।’ थापाले खेलपाटीसंग भने ।
सर्वोच्च अदालतले यसअघि विशेष अदालतले गरेको निर्णय सदर गरेसंगै सागर थापा सहित ६ फुटबलरलाई सफाईको फैसला सुनाएको छ । तर उनीहरुमाथि अन्तराष्ट्रिय प्रतिबन्ध भने यथावत छ ।
खेल मिलेमतोमा संलग्न भएको अभियोगमा एएफसीको अनुशासन समितिद्धारा ६ खेलाडीमाथ आजीवन प्रतिबन्ध लगाएको थियो ।
थापा सहित पूर्व उपकप्तान सन्दीप राई, गोलकिपर रितेश थापा, पूर्व डिफेन्डर विकास सिंह क्षेत्री र प्रशिक्षक अन्जन केसीलाई सन् २००८ देखि २०१२ सम्मका थुप्रै अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा म्याच फिक्सिङमा संलग्न रहेको भन्दै एएफसीले आजिबन प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।
एएफसीको प्रतिबन्धले सागर सहितका खेलाडी कुनैपनि फुटबल गतिविधिमा संलग्न हुन पाएका छैनन् ।
पूर्व कप्तान थापाले एएफसीको प्रतिबन्धका लागि पहल गर्न एन्फालाई आग्रह गरिने बताए ।
‘फुटबलमा जुन ठाउँ थियो । जस्तो मेहनत गरिएको थियो । त्यो समय अब रहेन । तर फुटबलको मैदानमा राष्ट्रिय टिमको जर्सी लगाएर सन्यास लिने मन छ ।’ उनले भने ।