काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमितिको आपतकालिन बैठकमा वरिष्ठ उपाध्यक्ष पंकज बिक्रम नेम्बाङ पुन: अनुपस्थित भएका छन् ।
स्वास्थ्यको कारण देखाउँदै उपाध्यक्ष नेम्बाङ एन्फा कार्यसमिति बैठकमा अनुपस्थित भएका हुन् ।
यसअघि सोमबार तय भएको आपतकालिन समितिको बैठकमा समेत उपाध्यक्ष नेम्बाङ अनुपस्थित भएका थिए । उपाध्यक्ष नेम्बाङ अनुपस्थित भएपछि आपतकालिन समितिको बैठक स्थगित गरिएको थियो ।
एन्फाको मानार्थ अध्यक्ष पुर्नस्थापना गर्नेदेखि भक्तपुर जिल्ला फुटबल संघलाई कारबाही गर्नेसम्मका बिषयमा निर्णय गर्न एन्फाले आपतकालिन बैठक बोलाएको थियो ।
तर, कुनै एक सदस्य अनुपस्थित रहेपछि आपतकालिन बैठकको निर्णय लागु नहुने एन्फा विधानमा व्यवस्था छ ।
एन्फाको आपतकालिन समितिमा अध्यक्ष कर्माछिरिङ शेर्पा सहित चार उपाध्यक्ष सहित रहेका छन् । विधानले ५ सदस्यीय आपतकालिन समितिको व्यवस्था गरेको छ ।
विधानमा आपतकालिन समितिको बैठकबाट निर्णय गर्न सबै सदस्यको उपस्थिती अनिवार्य गरिएको छ ।
आपतकालिन समितिको बैठक बस्न नसकेपछि एन्फाले कार्यसमितिकाे बैठक बाेलाएकाे हाे । बैठक ललितपुरकाे सातदाेबाटाेस्थित एन्फा कम्प्लेक्समा बसिरहेकाे छ ।