पोखरा । गण्डकी प्रदेश सरकारले खेलकुद पुर्वाधार निर्माणलाई प्राथमिकतामा राख्दै नयाँ आर्थिक बर्षको बजेट प्रस्तुत गरेको छ ।
आर्थिक वर्ष २०७७÷७८ को बजेट प्रस्तुत गर्दै प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले खेलकुद पुर्वाधार निर्माणका लागि ८ करोड ३५ लाख रुपैयाँ बिनियोजन गरिएको जानकारी दिए ।
सरकारले प्रदेशको अन्तर्राष्ट्रिय स्तरको बहुउद्देश्यीय रंगशाला, क्रिकेट मैदान, उच्च पर्वतीय खेलकुद तालिम केन्द्र, गल्फ कोर्स, स्कि जिल्ला स्तरीय रंगशाला तथा एक स्थानीय तह÷एक खेल मैदान निर्माणका लागि सो बजेट बिनियोजन गरेको हो ।
यस्तै, प्रदेशले नवौं राष्ट्रिय खेलकुदमा सहभागी हुने आफ्ना खेलाडीको प्रशिक्षण तथा व्यवस्थापनका लागि १ करोड ५० लाख छुट्याएको छ । प्रतियोगितामा विजयी हुने खेलाडीलाई सम्मानको पनि व्यवस्था मिलाउने भएको छ ।
प्रदेशले अन्तर्राष्ट्रिय तथा राष्ट्रिय खेलकुद प्रतियोगिता संचालनका लागि आवश्यक बजेट प्रदान गर्ने भएको छ ।
प्रदेशले मुख्यमन्त्री कप फुटबल प्रतियोगितालाई निरन्तरता दिदै प्रदेशमा खेलकुद गतिविधि व्यवस्थित गराउन नीति तर्जुमा गर्ने बताएको छ ।