एजेन्सी । वरिष्ठ उपाध्यक्ष पंकज बिक्रम नेम्वाङ्ग अनुपस्थित रहेपछि अखिल नेपाल फुटबल संघ (एन्फा)को आपतकालिन समितिको बैठक स्थगित भएको छ ।
एन्फाले मानार्थ अध्यक्ष सहितको बिषयमा निर्णय गर्न दिउँसो १ बजे आपतकालिन बैठक बोलाएको थियो ।
तर वरिष्ठ उपाध्यक्ष नेम्वाङ्गले स्वास्थ्यको कारण देखाउँदै बैठकमा आउन नसक्ने बताएसंगै आपतकालिन बैठक स्थगित गरिएको एन्फाका एक पदाधिकारीले खेलपाटीलाई बताए ।
आपतकालिन बैठकका कुनैपनि सदस्य अनुपस्थित रहेको खण्डमा बैठकको निर्णयले बैधता नपाउने एन्फा विधानमा उल्लेख छ ।
सोही अनुसार समिति सदस्य रहेका वरिष्ठ उपाध्यक्ष नेम्वाङ्ग बैठकमा नआएपछि आपतकालिन बैठक स्थगित भएको हो ।
एन्फाले महत्वपूर्ण बिषयमा निर्णय गर्न आपतकालिन बैठक बोलाएको थियो ।
एन्फाको मानार्थ अध्यक्ष पुर्नस्थापना गर्नेदेखि भक्तपुर जिल्ला फुटबल संघलाई कारबाही गर्नेसम्मका बिषयमा निर्णय गर्न एन्फाले आपतकालिन बैठक बोलाएको हो ।
तर एन्फा नेतृत्वसंग पछिल्लो समय बिमती राख्दै आएका नेम्बाङ्ग अनुपस्थित रहेपछि आपतकालिन बैठक समेत स्थगित भएको छ ।
एन्फाको आपतकालिन समितिमा अध्यक्ष कर्माछिरिङ शेर्पा सहित चार उपाध्यक्ष सहित रहेका छन् । विधानले ५ सदस्यीय आपतकालिन समितिको व्यवस्था गरेको छ ।
विधानमा आपतकालिन समितिको बैठकबाट निर्णय गर्न सबै सदस्यको उपस्थिती अनिवार्य गरिएको छ ।
आपतकालिन कार्यसमिति बैठक आह्वान
एन्फाले आपतकालिन कार्यसमिति बैठक आह्वान गरेको छ ।
सोमबारको आपतकालिन बैठक स्थगित भएसंगै एन्फाले आपतकालिन कार्यसमितिको बैठक भोलिका लागि आह्वान गरेको हो ।
बैठक दिउँसो २ बजे बोलाईएको जनाएको छ ।