काठमाडौं । नेपालका करोत खेलाडी एवं प्रशिक्षक रविन्द्र मानन्धरले सद्गुरु मास्टर्स अनलाईन कराते काता च्याम्पियनसिपमा रजत पदक जितेका छन् ।
केरला कराते संघ, भारतको आयोजनामा भएको अनलाईन कराते काता च्याम्पियनसिपको ३५ – ४५ वर्ष उमेर समूहमा मानन्धरले रजत जितेका हुन् । यस स्पर्धामा स्पेनका जेसु काउन्सेग्राले स्वर्ण जिते ।
सेमिफाइनलमा भारतका खेलाडीहरुलाई पछि पार्दै फाइनल यात्रा तय गरेका मानन्धर फाइनलमा भने झिनो अन्तरले पराजित भए । मानन्धरले २४.३८ अंक प्राप्त गरे । स्वर्ण जित्ने स्पेनी खेलाडीले २४.६४ अंक प्राप्त गरे ।
विश्व कराते महासंघ र एशियाली कराते महासंघको नियममा खेलाईएको अनलाईनल च्याम्पियनसिपमा ३५ – ४५, ४५ – ५५, ५५ – ६५ र कुबुदो गरि ४ विधामा प्रतिस्पर्धा गराईएको थियो ।
नेपालबाट यस च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने मानन्धर एक्ला खेलाडी हुन् । एक महिना देखि संचालन भईरहेको च्याम्पियनसिपमा जापान, भारत, स्पेन, श्रीलंका, नेपाल, फिलिपिन्स, भियतनाम, भनेजुयला लगायतको सहभागिता रहेको थियो ।
कोरोना भाईरसको महामारीको कारण विभिन्न प्रतियोगिता स्थगित भएपछि विश्व कराते महासंघ र एशियाली कराते महासंघको सम्वन्धनमा केरला कराते संघले उक्त च्याम्पियनसिप आयोजना गरेको हो ।