काठमाडौं । एभरेस्ट वर्ल्ड क्लास तेक्वान्दोले माइती नेपाललाई खाद्यान्न सहयोग गरेको छ ।
एभरेस्ट वर्ल्ड क्लास तेक्वान्दोको नेपाल शाखाको समन्वयनमा करिब एक लाख पाँच हजार रुपैयाँ बराबरीको खाद्यान्न शुक्रबार माइती नेपाललाई प्रदान गरिएको हो ।
नेपाल शाखाका अध्यक्ष केशव थापा, उपाध्यक्ष बलराम कार्की, सञ्जीव फुँयाल, तेक्वान्दो प्रशिक्षक थानेश्वर दर्लामी र निरज गौतमले सिनामंगलस्थित माइती नेपालमा ५० बोरा चामल र पाँच बोरा दाल हस्तान्तरण गरेका थिए ।
नेपालका शाखाका अध्यक्ष बलराम कार्की माइती नेपालमा तेक्वान्दो प्रशिक्षणसमेत गराउँछन् । तेक्वान्दो मास्टरद्वय कुमार कार्की र कल्पना कार्कीद्वारा अमेरिकाको बाल्टिमोरमा एभरेष्ट वर्ल्ड क्लास तेक्वान्दो सञ्चालन हुँदै आएको छ ।
पूर्व खेलाडीसमेत रहेका कुमारले नेपाली खेलाडीलाई सहयोग गर्नुका साथै सामाजिक कार्य गर्दै आइरहेका छन् । सोही कार्यलाई निरन्तरता दिन तेक्वान्दो मास्टरद्वय कुमार र कल्पनाले माइती नेपालमा सहयोग गरेका थिए ।
उनीहरूको उक्त कार्य निकै सराहनीय रहेका भन्दै नेपाल शाखाका अध्यक्ष केशव थापाले धन्यवाद दिएका थिए ।