काठमाडौं । नेपालका करोत खेलाडी एवं प्रशिक्षक रविन्द्र मानन्धर सद्गुरु मास्टर्स अनलाईन कराते काता च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेका छन् ।
केरला कराते संघ, भारतको आयोजनामा भएको अनलाईन कराते काता च्याम्पियनसिपमा आफ्ना २१ प्रतिद्वन्दिलाई पछाडी पार्दै मानन्धर ३५ – ४५ वर्ष उमेर समूह ‘ए’ बाट फाइनलमा प्रवेश गरेका हुन् ।
मानन्धरले सेमिफाइनलमा भारतका खेलाडीहरुलाई पछि पार्दै फाईनल यात्रा तय गरेका हुन् । अब उनले उपाधिका लागि स्पेनका खेलाडीको सामना गर्नेछन् ।
विश्व कराते महासंघ र एशियाली कराते महासंघको नियममा खेलाईएको अनलाईनल च्याम्पियनसिपमा ३५ – ४५, ४५ – ५५, ५५ – ६५ र कुबुदो गरि ४ विधामा प्रतिस्पर्धा गराईएको थियो ।
नेपालबाट सो च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने मानन्धर एक्ला खेलाडी हुन् । एक महिना देखि संचालन भईरहेको च्याम्पियनसिपमा जापान, भारत, स्पेन, श्रीलंका, नेपाल, फिलिपिन्स, भियतनाम, भनेजुयला लगायतको सहभागिता रहेको थियो ।
अन्य बिधाको सेमिफाइनलपछि जुन १३ तारिखमा फाइनल हुनेछ ।
कोरोना भाईरसको महामारीको कारण विभिन्न प्रतियोगिता स्थगित भएपछि विश्व कराते महासंघ र एशियाली कराते महासंघको सम्वन्धनमा केरला कराते संघले उक्त च्याम्पियनसिप आयोजना गरेको हो ।