एजेन्सी । बहराइनका धाविका सल्वा इद नासेर अस्थायी निलम्बनमा परेकी छिन् ।
प्रतिबन्धित औषधि प्रयोग (डोपिङ) परिक्षण नगरेपछि नासेरलाई अस्थायी निलम्बन गरिएको हो ।
महिलाको ४ सय मिटरमा विश्व च्याम्पियन नासेर पछिल्लो १२ महिनामा तीन पटक डोपिङ परिक्षणमा अनुपस्थित भएकी थिईन ।
जसको कारण उनलाई अस्थायी रुपमा निलम्बन गरिएको हो ।
एक वर्ष भित्र ३ पटक डोपिङ परिक्षण गर्न असफल भए एथलेटिक्सको एन्टी डोपिङ नियम उलंघन गरेको मानिन्छ ।
निलम्बनपछि नासेरले आफुले ३ पटक डोपिङ परिक्षण गर्न असफल भएको स्वीकार गरेकी छिन् । उनले यस घटना सामान्य भएको समेत बताएकी छिन् ।
'मैले धोका दिएको छैन । दिने छैन पनि,' इन्स्टाग्रामबाट उनले भनेकी छिन्,'मैले तीन पटक परिक्षणको मौका गुमाए । यो सामान्य हो । यो हुन्छ । मानिसहरुलाई अलमलमा पार्न चाहन्न । किनकि म कहिल्लै धोका दिन्न ।'
डोपिङ नियम उलंघनको कारण २२ वर्षे नासेरले कम्तिमा २ वर्षको प्रतिबन्ध भोग्नु पर्ने सम्भावना रहेको छ ।
सन् २०१९ मा कतारको दोहामा भएको विश्व च्याम्पियनसिपमा उनले ४ सय मिटरमा स्वर्ण जितेकी थिईन ।
नाइजेरियामा जन्मिएकी उनी सन् २०१४ बाट बहराइनबाट खेल्दै आएकी छिन् ।