काठमाडौं । नेपाल वादोरियो कराते डो संघ ब्ल्याक बेल्ट कमिटीले आयोजना गरेको 'ट्रेनिङ फ्रम होम' नामक अनलाईन प्रतियोगितामा विक बहादुर थामी पहिलो भएका छन् ।
आयोजकले सोमबार सार्वजनिक नतिजामा करिब ६५ जनालाई पछि पार्दै विक बहादुर पहिलो भएका हुन् । यस्तै हिक्मत रोक्का मगर दोस्रो र शान्ति तामाङ तेस्रो भए । उनीहरुले क्रमश: ५ हजार, २५ सय र १५ सय नगद समेत प्राप्त गरेका छन् ।
कोरोना भाईरसको महामारीपछिको लकडाउनको समय घरमै बसेर प्रशिक्षण गरेको १ मिनेट बढीको भिडियो पठाएर प्रतिस्पर्धीले प्रतियोगितामा सहभागी भएका छन् ।
कराते नेपाल नामक फेसबुक ग्रुपमा भिडियो पोष्ट गरेर सहभागिता जनाईएको प्रतिस्पर्धा बैशाख २० गते बाट सुरु भई जेठ ५ गतेसम्म चलेको थियो ।
प्रतिस्पर्धामा ६५ जनाको सहभागिता रहेको थियो ।
प्रतियोगिता नेपाल कराते महासंघ महासचिव,नेपाल वादोरियो कराते डो संघका अध्यक्ष एबम प्रमुख प्रशिक्षक हरिशरण केसीको पहलमा आयोजना गरिएको थियो ।
प्रतियोगिता नेपाल वादोरियो कराते डो संघका केन्द्रिय सदस्य एबम अन्तर्राष्ट्रिय खेलाडी सिमोन खत्री र ब्ल्याक बेल्ट कमिटीका सचिब पुरुषोत्तम पोखरेलले संयोजन गरेका थिए।
प्रतिस्पर्धाले लकडाउनको समय ट्रेनिङ स्थलसम्म आएर ट्रेनिङ गर्न नपाएका खेलाडीहरुको मनोबल उच्च बनाउने उदेश्यले आयोजना गरिएको र आगामी दिनमा समेत संचालन गरिने योजक पोखरेलले बताए ।