काठमाडौं । नेपालकी कुसुम तामाङ हंगेरीमा भएको आइवा युथ विश्व पुरुष तथा महिला बक्सिङ च्याम्पियनसिपमा पराजित भएकी छिन् ।
बुढापेस्टमा भएको च्याम्पियनसिपमा कुसुमले ५७ केजी तौल समूहमा प्रतिस्पर्धा गरेकी थिइन् । तर, कुसुम विश्व च्याम्पियनसिपमा कास्य पदक जितिसकेका मंगोलियाकी डेल्गेरखान्गाई खोन्गोर्जुलसंग पराजित भईन् ।
निकै प्रतिस्पर्धात्मक खेलमा तीन राउण्डसम्म खेलेकी कुसुम अंकका आधारमा पराजित भईन् । पहिलो राउण्डको पाँच सेकेण्डमै प्रतिद्वन्दिमाथि दाया स्ट्रेट पन्च प्रहार गर्दै जाई लागेकी कुसुमले पहिलो राउण्ड पुरै तीन मिनेटसम्म मंगोलियन खेलाडीमाथि दबाब दिएकी थिइन् ।
दोस्रो राउण्डको पहिलो २ मिनेटसम्म पनि विपक्षिमाथि दबाब दिन सफल कुसुमले अन्तिम समयमा अनुभवको कमीको कारण पराजित हुन पुगेकी थिइन् ।
च्याम्पियनसिपको लागि एक जना खेलाडी र एक जना टिम व्यवस्थापक गरी दुई सदस्यीय टोली हगेरी गएका थिए । नेपाली टोली आईतबार नेपाल फर्किने छन् ।
च्याम्पियनसिपको दौरान नेपाली टोलीका टिम व्यवस्थापक पुष्कर राज पन्तले आईबा अध्यक्ष एवं विभिन्न देशका प्रतिनिधिहरुसंग महत्वपुर्ण भेटघाट गरेका थिए ।