काठमाडौं । प्रथम शंखडोल खुल्ला अनलाईन काता कराते प्रतियोगितामा जगत सिंह धानुक र रोश्मा राईले स्वर्ण पदक जितेका छन् ।
शंखडोल डोजो गोकर्णेश्वरले आयोजना गरेको प्रतियोगितामा पुरुषतर्फ धनगढी कराते डोजोका जगत र महिलातर्फ खोटाङ डोजोकी रोश्माले स्वर्ण जितेकी हुन् ।
स्वर्ण जित्ने क्रममा जगतले २४.५ अंक प्राप्त गरे । बालाजु डो एकेडेमीका धिरेस श्रेष्ठले २३ अंकसहित रजत जित्दा नरहरी डोजोका स्वर्णिम मानन्धरले २२.५ अंकसहित कास्य जिते ।
महिलातर्फ रोश्माले २४.५ अंक प्राप्त गर्दै स्वर्ण जितिन् । धनगढी कराते एकेडेमीकी वर्षा राउतले २३ अंक जोड्दै रजत र एपीएफकी सरिता श्रेष्ठले २२.५ अंकसहित कास्य जितिन् ।
प्रतियोगितामा उदयमान खेलाडी लैनचौर डोजोका रेहान जाबेद र परिपक्क खेलाडी सुर्खेतका प्रदिप राई चुनिए ।
प्रतियोगितामा स्वर्ण जित्नेले १२ हजार ५ सय, रजत जित्नेले ६ हजार ५ सय र कास्य जित्नेले ४ हजार नगद प्राप्त गरे ।
प्रतियोगितामा शंखडोल डोजोका प्रमुख प्रशिक्षक भिमराम कारन्जित, प्रतियोगिता संयोजक तथा राष्ट्रिय खेलाडीविजय लामा, आठौं साफका स्वर्णधारी गंगाराम महर्जन र १३ औं सागका दोहोरो स्वर्ण पदक विजेता मन्डे काजी श्रेष्ठले निर्णयकको भूमिका निभाएका थिए ।
प्रतियोगिताका लागि आठौं साफका स्वर्ण पदक विजेता तथा नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले विशेष सहयोग गरेका थिए ।
प्रतियोगितामा २२ जना पुरुष र ११ जना महिला खेलाडीले सहभागिता जनाएका थिए ।