काठमाडौं । पहिलो संस्करणको टियु अन्तर कलेज बिएसी सिएसआईटि बास्केटबल प्रतियोगिता बिहिवारबाट सुरु हुने भएको छ । आयोजक न्यु समिट कलेजले बुधबार पत्रकार सम्मेलनबाट प्रतियोगिता भदौ ७ देखि १२ गतेसम्म हुने जानकारी गराएको हो ।
प्रतियोगितामा त्रिभुवन विश्वबिद्यालय अन्तर्गत कम्युटर साइन्स तथा इन्फरमेसन टेक्नोलोजीको अध्यापन गराउने कलेजका टोलीहरु मात्र सहभागी हुन पाउने कलेजका बिज्ञान तथा प्राविधिक शंकायका निर्देशक चोकराज दवाडीले जानकारी दिए ।
प्रतियोगितामा १२ टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई चार समूहमा विभाजन गरी लिग कम नकआउटका आधारमा प्रतिस्पर्धा गराइने छ ।
प्रतियोगिताको विजेताले नगद ३० हजार रुपैयाँ पुरस्कार पाउनेछ भने उपविजेताले २० हजार रुपैयाँ पुरस्कारका साथै मेडल र प्रमाणपत्र पाउनेछ । त्यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडी र सर्बाधिक स्कोर गर्ने खेलाडीलाई पनि मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।
प्रतियोगिताको पुरस्कार वापतको ५० हजार रुपैयाँ रकमलाई जापानी मूलका नेपाली नागरिक ताकासी मिहाराले प्रायोजन गरेका छन् । प्रतियोगितालाई मर्सी एजुकेशन प्रालीले मुख्य प्रायोजन गरेको कलेजका प्रिन्सिपल प्रोफेसर डाक्टर शिवदत्त ज्ञवालीले बताए ।
सहभागी टिमका लागि जर्सी स्पोन्सर आइफ्लिक्सले गरेको छ । पत्रकार सम्मेलनमा कलेजका प्रोग्राम निर्देशक राजु प्रधान, प्रशासन प्रमुख बासु गौतम, प्रतियोगिता संयोजक सागर श्रेष्ठ लगायतको उपस्थिति थियो ।