एजेन्सी । जापानमा यसै वर्ष आयोजना हुने टोकियो ओलम्पिकमा रुसका १० एथलेटिक्स खेलाडीले सहभागिता जनाउन पाउने भएका छन् ।
इन्टरनेशनल एसोसिएसन अफ एथलेटिक्स फेडेरेशन (आइएएएफ) ले रुसका कम्तिमा १० खेलाडीले टोकियो ओलम्पिक खेल्ने जनाएको छ । तर, रुसका ओलम्पिक खेल्ने खेलाडीले ओलम्पिकको झण्डामुनी रहेर खेल्ने छन् ।
यस्तै आइएएएफले रुस एथलेटिक्सलाई ७.८ मिलियन पाउण्ड जरिवाना समेत गरेको छ ।
प्रतिबन्धित शक्तिवर्धक औषधि प्रयोग (डोपिङ) को आरोपमा आइएएएफले रुस एथलेटिक्सलाई ओलम्पिक लगायत ठुला प्रतियोगिता खेल्न प्रतिबन्ध गरेको छ ।
यस्तै अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिले गत डिसेम्बरमा रुसलाई ओलम्पिक, विश्वकप लगायतका ठुला प्रतियोगितामा चार वर्षको प्रतिबन्ध लगाएको थियो । जसको कारण डोपिङमा नपरेका खेलाडीले ओलम्पिकको झण्डामा रहेर ओलम्पिक खेल्ने छन् ।
सन् २०११ देखि २०१५ सम्म रुसका हजार भन्दा धेरै खेलाडीले सरकारी संलग्नतामै प्रतिबन्धित औषधि प्रयोग गरिरहेको तथ्य एक स्वतन्त्र संस्था विश्व एन्टी डोपिङ एजेन्सी (वाडा) ले सार्वजनिक गरेको थियो । वाडाको रिपोर्ट बाहिर आएपछि आइएएएफले एक हजार बढी रुसका खेलाडीहरुको डोपिङ प्रशिक्षण गर्दा रुसका अधिकांस खेलाडीले प्रतिबन्धित शक्तिवर्धक औषधि प्रयोग गरेको पाइएको थियो ।
प्रतिबन्धकै कारण रुसले विश्व च्याम्पियनसिप, युरोपियन च्याम्पियनसिप खेल्न पाएको थिएन । प्रतिबन्धकै कारण रुसले ब्राजिलमा सम्पन्न रियो ओलम्पिकमा सहभागी हुन पाएको थिएन ।