काठमाडौं । अजितकुमार यदाव र राजपुरा पछाई दोश्रो मदन भण्डारी स्मृति ठमेल रोड रेसको खुलातर्फ शनिबार पहिलो भएका छन् ।
तेश्रो एसियाली जुनियर एथलेटिक्स च्याम्पियनसिपका स्वर्ण विजेता अजित पुरुष र राजपुरा महिलामा पहिलो भएका हुन् ।
अजितले निर्धारित ५ किलोमिटर दूरी १६ मिनेट १४.०१ सेकेन्डमा पूरा गरे । प्रकाशसिंह ऐरी (१८ मिनेट ५४.०७ सेकेन्ड) दोश्रो तथा सन्तोषनाथ योगी (१८ मिनेट १२.०९ सेकेन्ड) तेश्रो भए ।
राजपुराले निर्धारित ५ किलोमिटर दूरी तय गर्न १८ मिनेट २३.८९ सेकेन्ड समय खर्चिन् । सकुन्तला ठगुन्ना (२० मिनेट ५५.३८ सेकेन्ड) दोश्रो तथा अन्ना म्याकेर्डन (२३ मिनेट १५.४० सेकेन्ड) तेश्रो भए ।
दुवै समूहमा पहिलो हुनेले २५ हजार, दोश्रोले १२ हजार र तेश्रोले ८ हजार नगद पुरस्कार हात पारे ।
स्कुलतर्फ ब्वाइजमा नारायणकुमार कुश्वा पहिलो, ईश्वर बस्नेत दोश्रो तथा अजय तामाङ तेश्रो भए । उक्त स्पर्धाको गल्र्समा स्वस्तिका बोहरा, सुनिता श्रेष्ठ र अन्जु खड्काले क्रमशः शीर्ष तीन स्थानमा दौड पूरा गरे ।
ब्वाइज÷गल्र्स दुवैमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १५ हजार, ८ हजार र ५ हजार नगद पुरस्कार पाए ।
पुरुष भेट्रानमा धर्म महर्जन पहिलो, भीमबहादुर गुरुङ दोश्रो र राजु भण्डारी तेश्रो बने । शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १० हजार, ५ हजार र ३ हजार नगद पुरस्कार प्राप्त गरे । बाँकी तीन स्पर्धाको दूरी पनि ५ किलोमिटर रहेको थियो ।
विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य–सचिव एवं प्रदेश सांसद् केशव स्थापित, मदन भण्डारी स्पोर्ट्स एकेडेमीका महासचिव वचन देउजा, सचिव ओमकृष्ण प्रसाईंलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
सो अवसरमा १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत एथलेटिक्सको महिला १० हजार मिटर दौडकी स्वर्ण विजेता सन्तोषी श्रेष्ठलाई नगद २५ हजारसहित सम्मान गरिएको थियो ।
मदन भण्डारी स्पोर्ट्स एकेडेमी र रन क्लब नेपालद्वारा संयुक्त आयोजित प्रतियोगितामा करिब ४ सय खेलाडीको सहभागिता रहेको रन क्लबका अध्यक्ष सन्तोष श्रेष्ठले जनाएका छन् ।