काठमाडौं । नेपालमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण विजेता तेक्वान्दोकी निशा दर्नाल सम्मानित भएकी छिन् ।
न्यु जावलाखेल तेक्वान्दो डोजाङले शनिबार निशालाई नगदसहित सम्मान गरेको हो । जावलाखेलमा एक कार्यक्रमको आयोजना गर्दै आफ्नै डोजाङबाट उत्पादित खेलाडीलाई न्यु जावलाखेल तेक्वान्दो डोजाङले नगदसहित सम्मान गरेको हो ।
प्रमुख अतिथि प्रदेश–३ का सांसद राजकाजी महर्जन र डोजाङ प्रमुख थानेश्वर दर्लामी मगरले स्वर्ण विजेता निशालाई नगद ५० हजारसहित सम्मानपत्र प्रदान गरेका थिए ।
निशाले १३ औं सागमा महिला टिम पुम्सेतर्फ १७ देखि २३ वर्ष उमेरसमूहमा नेपाललाई स्वर्ण दिलाएका थिइन् । निशासहित स्वस्तिका तामाङ र सन्जिला तिमिल्सेनको टोलीले स्वर्ण दिलाएका थिए । सोही कार्यक्रममा १३ औं सागमा नेपाललाई सर्वाधिक स्वर्ण दिलाउन सफल नेपाली तेक्वान्दो टोलीका प्रशिक्षकहरूलाई पनि सम्मान गरिएको थियो ।
गत सागमा नेपालको तेक्वान्दोले कुल १२ स्वर्ण, ६ रजत र ११ कांस्य गरी कुल २९ पदक जितेको थियो । जसमा नेपालले पुम्सेतर्पm सात स्वर्ण, एक रजत र पाँच कांस्य तथा फाइटमा पाँच स्वर्ण, पाँच रजत र ६ कांस्य पदक जित्न सफल भएको थियो । सोही सागमा नेपाललाई सफलता दिलाउन योगदान पुर्राएका नेपाली टोलीका प्रमुख प्रशिक्षक नवीनकुमार श्रेष्ठ, टीकाप्रसाद लिम्बु, नोर्बु लामा, हिराबहादुर थापा, संगीना वैद्य र दीपक बिष्टलाई सम्मान गरिएको थियो ।
उनीहरू प्रदेश–३ का सांसद राजकाजी महर्जन, न्यु जावलाखेल तेक्वान्दो डोजाङका प्रमुख थानेश्वर दर्लामीमगर र नेपाल तेक्वान्दो संघ प्रदेश–३ का अध्यक्ष केशव पुरीलगायतले सम्मानपत्र प्रदान गरेका थिए ।