काठमाडौं । सन्तोषी श्रेष्ठ र गोपीचन्द्र पार्कीले वीर गणेशमान सिंह एडिडास टेन–के रोड रेस प्रतियोगिताको उपाधि जितेका छन् ।
दरबारमार्गमा शनिबार आयोजित प्रतियोगितामा महिलातर्फ सन्तोषी र पुरुषतर्फ गोपीचन्द्र च्याम्पियन बनेका हुन् ।
१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा स्वर्ण पदक जितेका सन्तोषीले निर्धारित दुरी ३९ मिनेट १०.९८ सेकेण्डमा पुरा गरिन् ।
उनले एपीएफकी बिन्द्रा श्रेष्ठलाई पछि पारिन् । ब्रिन्द्राले ४० मिनेट ११.२९ सेकेण्डको समयसहित दोस्रो भईन् । ४० मिनेट ५८.११ सेकेण्डसहित एपीएफकि फुलमती राना तेसो भईन् ।
महिलातर्फ बिर्सना कुमाल चौंथो, रेखा बिष्ट पाँचौं बन्दा बेल्जियमकी लेसी, जुनेली सुनार,निर्जला ताम्राकार,राजीना दुलाल र निशा थापा क्रमश छैटौं देखि दशौँमा रहे ।
पुरुषतर्फ सागकै स्वर्णधारी गोपीले निर्धारित दुरी ३२ मिनेट ०१.२ सेकेण्डको समय निकाल्दै उपाधि जिते । एपीएफका गोपीले सागमा ५ हजार मिटर दौडमा स्वर्ण जितेका थिए ।
एपीएफका खिम बहादुर खत्री ३४ मिनेट ३५ सेकेण्डसहित दोस्रो हुँदा ३४ मिनेट ३५.१ सेकेण्डको समयसहित कर्णाली स्पोर्ट्सका नरेश बुढा तेस्रो भए ।
पुरुषतर्फ श्रीकेश राई, अविशेक पाचोक्ति, नन्द नाथ योगी,निर्जेन गुरुङ,शेर थारु,सुनिल बुढाथोकी र पारस शाही चौंथो देखि क्रमश: दशौँ स्थानमा रहे l
उपाधिसँगै सन्तोषी र गोपीले जनही ६० हजार प्राप्त गरे l यस्तै दोस्रोले ३० हजार, तेस्रोले १५ हजार, चौथोले १० हजार र पाचौले ५ हजार प्राप्त गरे l छैटौं देखि दशौँसम्मलाई समान ४/४ हजार बराबरको गिफ्ट ह्याम्पर प्रदान गरिएको छ l
रुट्स फेसन प्रालिको आयोजनामा भएको दौडमा करिब ३ सय खेलाडीले सहभागिता जनाएका थिए ।
दौड एडिडास शोरुम दरबारमार्गबाट सुरु भएर महेन्द्र शालिक,रत्नपार्क, भद्रकाली,शहीदगेट, विर हस्पिटल, भोटाहिटी, राजदरबार संग्राहलय दक्षिणगेट, केशरमहल,लैनचौर, लाजिम्पाट, महाराजगन्ज,शिवपुरी स्कुल,बालुवाटार, भाटभटेनी,टंगाल, वालमन्दिर,पुलिस हेडक्वाटर,गौरीधारा,राजदरबार उत्तर पूर्वमोड,नागपोखरी, जयनेपाल सिनेमा हल हुँदै पुन: एडिडास स्वरूम दरबार मार्गमा आएर सकिएको थियो l