काठमाडौं । सन्तोषी श्रेष्ठ र गोपीचन्द्र पार्कीले बीर गणेशमान सिंह १० किलोमिटर रोड रेस दौडने भएका छन् ।
१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा स्वर्ण पदक जितेका सन्तोषी र गोपीले बीर गणेशमान सिंह रोड रेसमा सहभागीता जनाउने पक्का भएको हो ।
रोड रेस आगामी शनिबार काठमाडौंमा सञ्चालन हुदैछ ।
आयोजक रुड्स फेसन प्रालीले सन्तोषी र गोपीचन्द्र सहित करिब ३ सय जना धावक रोड रेसमा दौडने पक्का भएको जनाएको छ ।
सन्तोषीले १० हजार मिटर दौडमा र गोपीले १५ सय मिटर दौडमा सागमा स्वर्ण पदक जितेका थिए । दुवैले मध्यम दुरीको दौडमा स्वर्ण पदक जितेर एथ्लेटिक्समा ऐतिहासिक सफलता हात पारेका थिए ।
रोड रेसमा दौडन आज (बिहिबार)सम्म नाम दर्ताको समय तोकिएको थियो ।
प्रतियोगितामा देशी विदेशी सहित करिब ३ सय धावकले प्रतिस्पर्धा गर्ने तय भएको छ । प्रतियोगितामा विभागीय टिमका खेलाडी सहित अमेरिका, बेल्जियम, कोरिया लगायतका धावक सहभागी हुनेछन् ।
एडिडासको शोरुम दरबारमार्गबाट सुरु हुने दौड शहरका विभिन्न भाग हुँदै सोही स्थानमा अन्त्य हुनेछ ।
प्रतियोगिताको विजेतालाई पदक, ट्रफी, प्रमाणपत्र सहित नगद पुरस्कारको व्यवस्था गरिएको छ । सबै सहभागी धावकले प्रमाणपत्र प्राप्त गर्नेछन् ।
प्रतियोगिता सञ्चालन गर्न ८५ जना निर्णायक सहभागी हुने आयोजकले जनाएको छ ।