काठमाडौ । वीरगन्जमा हालसम्मकै सबैभन्दा ठूलो म्याराथन स्पर्धा ‘टीभीएस वीरगन्ज म्याराथुन २०७६’ हुने भएको छ ।
नेपालका लागि टीभीएस बाइकको आधिकारिक वितरक जगदम्बा मोटर्सको मुख्य प्रायोजनमा हुने म्याराथन भोली (शनिबार) हुन लागेको हो ।
भिजिट नेपाल बर्ष २०२० प्रदेश नम्बर २, नेपाली सेनाको मध्य पृतना र नम्बर २८ बाहिनी तथा वीरगन्ज महानगरपालिकाको सह–संयोजकत्वमा म्याराथन हुन लागेको हो ।
वीरगन्ज घण्टाघरबाट सुरु हुने म्याराथन विभिन्न स्थान पार गर्दै सेनाको ब्यारेकमा पुगेर समापन हुनेछ ।
म्याराथनमा ५ हजार बढी सहभागी हुने अपेक्षा गरिएको छ । प्रतियोगितामा विभिन्न फरक क्षमताका धावक सहभागी हुने आयोजकले बताएको छ ।
प्रतियोगितामा ७० वर्ष भन्दा माथिका ज्येष्ठ नागरिकका लागि १ किलोमिटर, अपांगका लागि १ किलोमिटरको ह्विल चियर दौड, स्कुल विद्यार्थीहरुका लागि ५ किलोमिटर, सामान्य नागरिकका लागि १० किलोमिटर, हाफ म्याराथन र म्याराथनको स्पर्धा समावेश गरिएको छ ।
प्रतियोगिताको प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउत र प्रधान सेनापति पूर्णचन्द्र थापाबाट उद्घाटन गरिनेछ ।
म्याराथनमा पहिलो हुने विजेतालाई १ लाख २५ हजार र टीभीएस स्कुटर प्रदान गरिने जगदम्बा मोटर्सका मार्केटिङ म्यानेजर नवराज कोइरालाले बताए ।
यस्तै विभिन्न स्पर्धाका विजेतालाई समेत पुरस्कारको व्यवस्था गरिएको छ ।