काठमाडौं । गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताका लागि प्रदेश १ बाट १४ जना खेलाडी छनोट भएका छन् । आगामी चैतमा आयोजना हुने प्रतियोगिताको बिहिबारबाट छनोट प्रतियोगिता सुरु भएको हो ।
विराटनगरमा भएको प्रदेश १ स्तरीय छनोट प्रतियोगिताबाट पुरुष ४९ केजीमा तौल समूहमा झमेन्द्र राई, ५२ केजीमा भुगाल लिम्बू, ५६ केजीमा सुरेन्द्र राई, ६० केजीमा तोबिन प्रधान छनोट भए ।
यसैगरी ६४ केजीमा अभिनय राई, ६९ केजीमा प्रशान्त दाहाल, ७५ केजीमा प्रशिस रुचाल र ८१ केजी तौल समूहमा सुजन परियार छनोट भए ।
त्यस्तै, महिलाको ४८ केजीमा रोसिना लावती, ५१ केजीमा शिला राई, ५४ केजीमा जोसिका श्रेष्ठ, ५७ केजीमा सिर्जना गुरुङ, ६० केजीमा सुस्मिता राई र ६४ केजी तौल समूहमा त्रिशा जबेगु छनोट भए ।
राष्ट्रिय प्रतियोगिताका लागि छनोट हुन सफल खेलाडीलाई विराटनगर महानगरपालिकाकी उपप्रमुख इन्दिरा कार्की, प्रतियोगिता संयोजक राजीव श्रेष्ठले प्रमाणपत्र प्रदान गरे ।

प्रतियोगिताअन्तर्गत प्रदेश २ र बागमती प्रदेशको छनोट फागुन २० देखि २२ सम्म काठमाडौंमा हुनेछ ।
यस्तै गण्डकी प्रदेशको छनोट प्रतियोगिता फागुन २९ देखि चैत १ गतेसम्म पोखरामा, प्रदेश ५ र कर्णाली प्रदेशको छनोट भने चैत ४ देखि ६ गतेसम्म नेपालगन्ज र सुदूरपश्चिम प्रदेशको छनोट प्रतियोगिता चैत ८ देखि १० गतेसम्म धनगढीमा सञ्चालन हुनेछ ।
काठमाडौंमा चैत १८ गतेदेखि हुने राष्ट्रिय प्रतियोगिताका हरेक तौल समूहका विजेताले २५ हजार, दोस्रो हुनेले १५ हजार र तेस्रो हुने खेलाडीले सात हजार पाँच सय रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने छन् ।
प्रतियोगिताका उत्कृष्ट पुरुष खेलाडीलाई मोटरसाइकल र महिला खेलाडीलाई स्कुटर प्रदान गरिने प्रतियोगिता संयोजक राजिव श्रेष्ठले जानकारी दिए ।