काठमाडौं । दोस्रो संस्करणको मदन भण्डारी स्मृती ठमेल रोड रेस च्याम्पियनसिप फागुन २४ गते आयोजना हुने भएको छ ।
आयोजक रन क्लब नेपाल र मदन भण्डारी स्पोर्ट्स एकेडेमीले बिहिबार पत्रकार सम्मेलन गर्दै रोड रेस फागुन २४ गते हुने जनाएको छ ।
प्रतियोगितामा स्वदेशी तथा विदेशी गरि १५ सय खेलाडीहरुको सहभागिता रहने आयोजक क्लबका अध्यक्ष सन्तोष श्रेष्ठले जानकारी गराए ।
नेपालका लागि पहिलो अन्तराष्ट्रिय पदक दिलाउन सफल म्याराथन धावक ओलम्पियन जित बहादुर के.सी. र दक्षिण एशियाली खेलकुदमा म्याराथनमा ह्याट्रिक सहित किर्तिमान राख्न सफल ओलम्पियन बैकुण्ठ मानन्धरको समेत सहभागिता रहने रोड रेसमा महिला/पुरुष ५ कि.मि. खुल्ला , छात्र/छात्रा ५ कि.मि. र महिला तथा पुरुष भेट्रान्स ५ मि.मि. दौड समावेश गरिएको छ ।
महिला र पुरुष खुल्लातर्फको विजेताले २५ हजार, उपविजेताले १२ र तेस्रोले ८ हजार पाउने छन् । छात्र/छात्राको विजेताले १५ हजार, उपविजेताले ८ हजार र तेस्रोले ५ हजार पाउने छन् । भेट्रान्सको विजेताले १० हजार, उपविजेताले ५ र तेस्रोले ३ हजार पाउने छन् ।
लैनचौरस्थित टेबल टेनिस प्रशिक्षण केन्द्र अगाडीको फुटबल मैदानबाट सुरु हुने रेस बिहान ७ बजे सुरु हुनेछ । रोड रेस उत्तर ढोका, नागपोखरी, नारायणहिटी संग्रहालय, महेन्द्र शालिक, घण्टाघर, रत्नपार्क, कान्तिपथ, जमल, केशरमहल, नर्सिङ चोट, भगवती मन्दिर, ठमेल चोक, अस्कल क्याम्पस, मल्ल होटल हुँदै पुन: लैनचौरको फुटबल मैदानमा आएर सकिने छन् ।
राष्ट्रिय खेलकुद परिषद्, नेपाल एथलेटिक्स संघ र काठमाण्डौ जिल्ला खेलकुद बिकास समितिको मान्यता रहेको रोड रेसमा नेपाल एथलेटिक्स संघको प्राविधिक सहयोग हुने आयोजकले जनाएको छ ।