काठमाडौं । ह्वाइटहाउस कलेजले आईआईएमएस पाँचौं यू–१८ राष्ट्रिय पुरुष बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा बिहिबार भएको फाइनलमा ह्वाइटहाउसले जेभियर इन्टरनेसनललाई ५६–४५ ले पराजित गर्यो । ह्वाइटहाउसका सुरज खत्रीले ८ अंक जोडे ।
ह्वाइटहाउसले पहिलो क्वाटरमा १०–८, दोश्रोमा १४–१२ र तेश्रोमा २०–७ को अग्रता लिएको थियो । चौथोमा जेभियरले १८–१२ को अग्रता लिएपनि जितका लागि पर्याप्त भएन ।
विजेता ह्वाइटहाउसका विशाल मोक्तान ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए ।
नेपाल बास्केटबल संघद्वारा आयोजित प्रतियोगितामा समृद्धिले तेश्रो स्थानमा चित्त बुझायो । समृद्धिले न्यु जेनिथलाई ७८–६९ ले हरायो । समृद्धिका सोमित गुरुङले २० स्कोर गरे ।
विजेतालाई संघीय सांसद् एवं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
फागुन १ गतेदेखि सुरु प्रतियोगितामा १२ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।
यसै प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा बंगलादेशमा जुन–जुलाईमा हुने साबा यू–१८ पुरुष बास्केटबल च्याम्पियनसिपका लागि नेपाली टोलीको चयन गरिने छ ।