काठमाडौं । नेपाल बास्केटबल संघको आयोजनामा पाँचौं आईआईएमएस यु–१८ राष्ट्रिय पुरुष बास्केटबल प्रतियोगिता बिहीबारदेखि हुने भएको छ ।
प्रतियोगितामा १२ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गर्ने आयोजक संघका महासचिव नरेन्द्र थापाले जनाएका छन् ।
टिमलाई चार समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा एन्जल्स हार्ट, रामेछाप र न्यु जेनिथ तथा समूह ‘बी’ मा जेभियर इन्टरनेसनल, ज्ञान निकेतन र रुपन्देही रहेका छन् ।
दाङ, समृद्धि र एलआरआई समूह ‘सी’ तथा टाइम्स, हिमालयन ह्वाइटहाउस र गोल्डेनगेट समूह ‘डि’ मा छन् । समूह विजेता र उपविजेता क्वाटरफाइनलमा पुग्ने छन् ।
आईआईएमएसको मुख्य प्रायोजनमा हुन लागेको प्रतियोगिता सञ्चालन गर्न करिब ६ लाख रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ ।
फागुन ७ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरु त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुने छ ।
प्रतियोगिता बंगलादेशमा जुन–जुलाईमा हुने साबा यु–१८ पुरुष बास्केटबल च्याम्पियनसिपका लागि छनोट आधारका रुपमा समेत रहेको छ ।