काठमाडौं । स्पाइकर मान बहादुर श्रेष्ठ नेपाली राष्ट्रिय पुरुष भलिबल टिमको प्रारम्भिक टोलीमा परेका छन् ।
त्रिभुवन आर्मी क्लबका स्पाइकर मान बहादुरले करिब ८ महिनापछि राष्ट्रिय टिममा पुनरागमन गरेका हुन् ।
नेपाल भलिबल संघले एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन पुरुष भलिबल च्याम्पियनसिपका लागि मान बहादुरलाई टिममा बोलाएको हो ।
सेन्ट्रल जोनका लागि संघले घोषणा गरेको १८ सदस्सीय प्रारम्भिक टोलीमा मान बहादुर परेका हुन् ।
बंगलादेशमा आयोजना हुने एभिसी सेन्ट्रल जोन चैतको पहिलो साताबाट हुनेछ । नेपालले प्रतियोगिताको लागि शुक्रबारबाट बन्द प्रशिक्षण समेत थालेको छ ।
'७-८ महिनापछि टिममा फर्किएको छु । आफ्नै कारण टिमबाहिर थिए । छनोट खेलेको थिएन,' मान बहादुरले खेलपाटीसँग भने, 'धेरै पछि टिममा फर्कदा खुसी लागेको छ । राम्रो गर्दै टिममा पर्ने छु ।'
विभागीय कारबाहीपछि मान बहादुर गत जेठबाट राष्ट्रिय टिमबाहिर रहेका हुन् । उनले प्रदेश पाँचमा सम्पन्न आठौं राष्ट्रिय खेलकुद खेलेका थिएनन् ।
आठौं राष्ट्रिय खेलकुद नखेलेपछि संघले नेपालमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) र एभिसी सेन्ट्रल जोन खेल्ने टिममा मान बहादुरलाई राखेको थिएन् ।
मान बहादुरले १३ औं साग बीच भलिबल टिमबाट खेलेका थिए ।
टिमले शुक्रबारबाट तयारी थालेपनि मान बहादुर भने चोटको कारण आराम गरिरहेका छन् । मान बहादुर आइतबारबाट बन्द प्रशिक्षणमा सामेल भएका छन् ।
'अभ्यासको क्रममा खुट्टाको चोट लागेको छ । शुक्रबार प्लास्टर खोल्ने तय भएको छ । आइतबारबाट प्रशिक्षणमा जाने छु,' मान बहादुरले भने ।