काठमाडौं । साबिकको विजेता एपीएफ र न्यु डाईमण्ड स्पोर्ट्स क्लबले १५ औं संस्करणको ढोरपाटन महिला डबल लिग भलिबल च्याम्पियनसिपमा लगातार चौंथो जित निकालेका छन् ।
नयाँ बसपार्कस्थित ढोरपाटन भलिबल क्लबको मैदानमा आइतबार भएको खेलमा एपीएफले सेब स्कुललाई ३–० को सोझो सेटमा पराजित गर्दै चौंथो जित निकालेको हो ।
एपीएफले सेब स्कुललाई २५–५, २५–४ र २५–१२ ले पराजित गर्यो । जितसँगै एपीएफले चार खेलबाट ११ अंक जोडेको छ । एपीएफ तालिकाको दोस्रो स्थानमा रहेको छ ।
यस्तै न्यु डाईमण्डले तीन भारतीय खेलाडी भित्र्याएको आयोजक ढोरपाटन क्लबलाई ३–० को सोझो सेटमा पाखा लगायो ।
न्यु डाईमण्डले ढोरपाटनलाई २५–१३, २५–१० र २५–१६ ले हरायो । जितसँगै न्यु डाईमण्डले चार खेलबाट १२ अंक जोडेको छ । न्यु डाईमण्ड शीर्ष स्थानमा रहेको छ । ढोरपाटनले भने ६ अंक जोडेको छ ।
आइतबार नै नेपाल पुलिसले दुई जित निकालेको छ । पहिलो खेलमा चुली युवा क्लबलाई २५–१०, २५–११, २५–१४ ले हराएको पुलिसले दोस्रो खेलमा प्यारामाउन्ट स्कुललाई २५–९, २५–१० र २५–११ को सोझो सेटमा हराएको छ । जितपछि पुलिसले चार खेलबाट १० अंक जोडेको छ । प्यारामाउन्टले ३ अंक बनाएको छ ।
यस्तै, त्रिभुवन आर्मीले भारतीय खेलाडीले भरीभराउ टिम बुलबुले रारा क्लबलाई ३–० को सोझो सेटमा हरायो । आर्मीले बुलबुलेलाई सो खेल २५–१०, २५–१० र २५–२१ ले हरायो । जितसँगै आमीले ६ अंक बनाएको छ । बुलबुलेले ९ अंक बनाएको छ ।
ढोरपाटन स्पोर्ट्स क्लबको आयोजनामा जारी प्रतियोगितामा १० टिमले प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगिताको पहिलो चरणको लिगपछि शीर्ष ७ टिम दोस्रो चरणमा पुग्नेछ । दोस्रो चरणको लिगपछि शीर्ष टिमले उपाधि जित्नेछ ।
प्रतियोगिताको विजेताले ४ लाख ५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । त्यस्तै उपविजेतालाई २ लाख ५ हजार र तेस्रो हुनेले १ लाख ५ हजार पाउनेछन् । यस्तै चौथौ हुनेलाई ७५ हजार, पाचौँ हुनेलाई ५५ हजार,छैठौं हुनेलाई ४५ हजार र सातौं हुने टिमलाई ३५ हजार नगद पुरस्कार राखिएको आयोजकले जनाएको छ ।
प्रतियोगितामा चार विधामा उत्कुष्ट हुने खेलाडीले यु एम स्कुटर पाउनेछन् । उत्कृष्ट खेलाडी ,उदयमान, बर्ष खेलाडी र प्लेयर अफ द सिरिज बन्ने खेलाडीले स्कुटर पाउनेछन् । त्यस्तै भाग्यशाली एक दर्शक र ग्रेट एचिभमेन्ट अवार्ड विजेतालाई एक एक थान मोटरसाइकल प्रदान गरिनेछ ।