काठमाडौं । ढोरपाटन क्लबद्धारा आयोजित १५ औंं संस्करणको ढोरपाटन महिला भलिबल प्रतियोगिता काठमाडौंमा जारी छ । प्रतियोगिताको तीन दिन बितेको छ ।
नयाँ बसपार्कस्थित ढोरपाटनको मैदानमा सञ्चालिन प्रतियोगितामा १० टिम खेलिरहेका छन् ।
तर प्रतियोगितामा एक परिचित अनुहार देखिदैन ।
न्यु डाईमण्डबाट खेल्ने राष्ट्रिय भलिबल टिमकी नम्बर एक स्पाईकर प्रतिभा मालीले प्रतियोगिता खेल्ने छैनिन् ।
उनी पाँचौं संस्करणको आरबीबी च्याम्पियनसिपको फाइनलमा एपीएफविरुद्ध तेस्रो सेट खेल्ने क्रममा घाइते भएकी थिईन् । जसका कारण उनी लामै समय मैदान बाहिर बस्न पर्ने भएको छ । सोही कारण उनले ढोरपाटन महिला भलिबल लिग गुमाउनेछिन् ।
‘खेल्न नपाउदा दुख त लागेको छ । तर क्लबका अरु खेलाडीले मौका पाउने हुँदा सकारात्मक रुपमा लिएको छु ।’ अस्पतालको बेडमा भेटिएकी प्रतिभाले भनिन् ।
‘खेल्न नपाउदा दुख लाग्छ । मैले खेलिन तर जुनियर पनि धेरै छन् । उनीहरुले मौका पाए । यसरी एक्सपोज पाउनु उनीहरुका लागि राम्रो हो । यसलाई सकारात्मक रुपमा लिएको छु ।’ प्रतिभाले थपिन् ।
प्रतिभा बिना प्रतियोगितामा उत्रिएको न्यु डाईमण्डले प्यारामाउन्ट, चुली युवा क्लब र सेब स्कुललाई हराउँदै लगातार तेस्रो जित निकालेको छ ।
प्रतिभा अहिले त्रिपुरेश्वरस्थित ब्लु क्रस हस्पिटलमा उपचार गराइरहेकी छिन् ।
उनको घुँडामा चोट लागेको छ । उनले घुँडाको शल्यक्रिया गर्नुपर्ने चिकित्सकले बताएका छन् ।
उनी करिब एक बर्ष मैदान बाहिर रहने छिन् । तर पनि प्रतिभाले हार मानेकी छैनन् ।
‘राम्रोसँग आराम गरेर धेरै मेहेनतका साथ अझै ऊर्जा लिएर भलिबलमा फर्कनेछु ।’ उनी भन्छिन् ।
‘खेल्ने-नखेल्ने बिषयमा धेरै ध्यान पुगेको छैन । नसोचेको चोट लागेपछि कसरी निको हुने भन्नेमा सबै ध्यान केन्द्रित छ । नहुने कुरा भईसक्यो, अब जसरी पनि निको हुनुपर्छ । बलियो हुनुपर्छ ।’ उनले भनिन्, ‘चिकित्सकले शल्यक्रियाको ६ महिनापछि थेरापी गराउने भनेका छन् ।’
प्रतिभा न्युडायमण्ड नभएर मात्र राष्ट्रिय टिमकी समेत मेरुदण्ड हुन् । उनकै प्रभावमा नेपालले यसै बर्ष भएको एभिसी सेन्ट्रल जोन महिला भलिबलको उपाधि जितेको थियो ।
त्यस्तै १३ औं सागमा कीर्तिमानी रजत पदक हात पारेको थियो । प्रतिभाकै प्रेरणादायी प्रर्दशनमा न्युडायमण्डले घरेलु खेलकुदमा प्रभाव जमाउँदै आएको छ ।
‘उपचार र थेरापी नसकेर खेले चोट बल्झिन्छ भन्ने सुनेको छु । चिकित्सकले भने अनुसार आराम गरेर खेलमा फर्कने विचार गरेको छु ।’ उनले भनिन्, ‘धेरै मेहेनतका साथ अझै ऊर्जा लिएर आउनेछु ।’
उनले विश्रामको समय पढाईमा केन्द्रित गर्ने बताईन् । लगत्तै भलिबलमा फर्कन सबै प्रयत्न गर्ने उल्लेख गरिन् । ‘खेल्न नसकेपनि स्कुलमा गएर, खेल हेरेर, अरुलाई सहयोग गरेर भलिबलमै हुनेछु ।’ उनले थपिन् ।