काठमाडौं । साविक विजेता एपीएफ क्लब र न्यु डायमन्ड स्पोर्ट्स क्लबले १५ औं संस्करणको ढोरपाटन महिला डबल लिग भलिबल च्याम्पियनसिपमा लगातार तेस्रो जित निकालेका छन् ।
नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको भलिबल कोर्टमा शनिबार भएको खेलमा एपीएफले नेपाल पुलिस क्लबलाई ३-२ को सेटमा पराजित गर्दै लगातार तेस्रो जित निकालेको हो ।
रोमान्चक बनेको विभागीय डर्बी भिडन्तमा एपीएफले पुलिसलाई २५-२१, २७-२९, ९-२५,२५-८ र १५-१३ को सेटमा पराजित गर्यो ।
खेलमा पुलिसकी कोपिला राना वुमन अफ दि म्याच बनिन् । खेलपछि बुलबुले रारा क्लबका अध्यक्ष निर्माण शाहीले कोपिलाको खेल मन पराएर उनलाई ५ हजार नगदले पुरस्कृत गरे ।
जितसँगै एपीएफले ३ खेलमा ९ अंक जोडेको छ । पहिलो खेलमा एपीएफले चुली युवा क्लबलाई हराएको एपीएफ दोस्रो खेलमा त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको थियो । २ खेलमा पुलिसले ३ अंक जोडेको छ । पहिलो खेलमा सेब स्कुललाई हराएको पुलिसको यो पहिलो हार हो ।
यस्तै लगातार तेस्रो जित निकाल्ने क्रममा न्यु डायमन्डले सेब स्कुललाई ३-० को सेटमा पराजित गर्यो । सेबमाथि न्यु डायमन्डले २५-२, २५-६ र २५-१३ को सेटमा जित निकाल्यो । पहिलो खेलमा न्यु डायमन्डले पारा माउन्ट र दोस्रो खेलमा चुली युवा क्लबलाई हराएको थियो । जितसँगै न्यु डायमन्डले ३ खेलमा ९ अंक जोडेको छ ।
शनिबार नै पारा माउन्टले जित निकालेको छ । पारा माउन्टले चुलीलाई २५-२०,२५-२३ र २५-२२ को सेटमा पराजित गर्यो ।
त्यस्तै बुलबुले रारा क्लबले सेब स्कुललाई २५-१०, २५-१३ र २५-११ ले हराएको छ । शनिबार तय भएको ढोरपाटन र पारा माउन्टबीचको खेल भने स्थगित गरिएको छ । खराब प्रकाशको कारण स्थगित उक्त खेल सोमबार हुनेछ ।
ढोरपाटन स्पोर्ट्स क्लबको आयोजनामा जारी प्रतियोगितामा १० टिमले प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगिताको पहिलो चरणको लिगपछि शीर्ष ७ टिम दोस्रो चरणमा पुग्नेछ । दोस्रो चरणको लिगपछि शीर्ष टिमले उपाधि जित्नेछ ।
प्रतियोगिताको विजेताले ४ लाख ५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । त्यस्तै उपविजेतालाई २ लाख ५ हजार र तेस्रो हुनेले १ लाख ५ हजार पाउनेछन् । यस्तै चौथौ हुनेलाई ७५ हजार, पाचौँ हुनेलाई ५५ हजार,छैठौं हुनेलाई ४५ हजार र सातौं हुने टिमलाई ३५ हजार नगद पुरस्कार राखिएको आयोजकले जनाएको छ ।
प्रतियोगितामा चार विधामा उत्कुष्ट हुने खेलाडीले यु एम स्कुटर पाउनेछन् । उत्कृष्ट खेलाडी ,उदयमान, बर्ष खेलाडी र प्लेयर अफ द सिरिज बन्ने खेलाडीले स्कुटर पाउनेछन् । त्यस्तै भाग्यशाली एक दर्शक र ग्रेट एचिभमेन्ट अवार्ड विजेतालाई एक एक थान मोटरसाइकल प्रदान गरिने छन् ।