काठमाडौं । साविक विजेता एपीएफ क्लब र न्यु डायमन्ड स्पोर्ट्स क्लबले १५ औं संस्करणको ढोरपाटन महिला डबल लिग भलिबल च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेका छन् ।
नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको भलिबल कोर्टमा शुक्रबार भएको खेलमा एपीएफले त्रिभुवन आर्मी क्लबलाई ३-० को सेटमा पराजित गर्दै लगातार दोस्रो जित निकालेको हो ।
विभागीय डर्बी भिडन्तमा एपीएफले आर्मीलाई २५-२२,२५-२२ र २५-१७ को सेटमा पराजित गर्यो । जितसँगै एपीएफले २ खेलमा ६ अंक जोडेको छ । पहिलो खेलमा एपीएफले चुली युवा क्लबलाई ३-० को सोझो सेटमा पराजित गरेको थियो । ३ अंक जोडेको आर्मीको यो पहिलो हार हो ।
यस्तै लगातार दोस्रो जित निकाल्ने क्रममा न्यु डायमन्डले चुली क्लबलाई ३-० को सेटमा पराजित गर्यो । चुलीमाथि न्यु डायमन्डले २५-१२, २५-१७ र २५-६ ले पाखा लगायो । पहिलो खेलमा न्यु डायमन्डले पारा माउन्टलाई ३-१ को सेटमा पराजित गर्दै सुखद सुरुवात गरेको थियो ।
आयोजक ढोरपाटन स्पोर्ट्स क्लबले शुक्रबार दुई खेलमा जित निकाल्यो । पहिलो खेलमा ढोरपाटनले सेब स्कुललाई २५-१७, २५-२१ र २५-६ ले हराएको थियो । दोस्रो खेलमा ढोरपाटनले चुलीलाई २६-२४, २५-१७ र २५-२१ ले हरायो ।
जितसँगै ढोरपाटनले २ खेलमा ६ अंक जोडेको छ । चुलीको यो चौंथो हार ।
यस्तै शुक्रबार नेपाल पुलिस क्लब र बुलबुले रारा क्लबले पनि जित निकालेका छन् । पुलिसले सेब स्कुललाई २५-११, २५-१४ र २५-११ ले हरायो । पुलिसले १ खेलमा ३ अंक जोडेको छ । सेबको यो लगातार तेस्रो हार हो ।
बुलबुलेले पारा माउन्टलाई २५-१२, २५-१६ र २५-१५ को सेटमा हराएर लगातार दोस्रो जित निकालेको छ । बुलबुलेले २ खेलमा ६ अंक जोडेको छ । पारा माउन्टको यो लगातार दोस्रो हार हो ।
ढोरपाटन स्पोर्ट्स क्लबको आयोजनामा जारी प्रतियोगितामा १० टिमले प्रतिस्पर्धा गरिरहेका छन् ।
माघ २८ गतेसम्म चल्ने प्रतियोगिताको पहिलो चरणको लिगपछि शीर्ष ७ टिम दोस्रो चरणमा पुग्नेछ । दोस्रो चरणको लिगपछि शीर्ष टिमले उपाधि जित्नेछ ।
प्रतियोगिताको विजेताले ४ लाख ५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । त्यस्तै उपविजेतालाई २ लाख ५ हजार र तेस्रो हुनेले १ लाख ५ हजार पाउनेछन् । यस्तै चौथौ हुनेलाई ७५ हजार, पाचौँ हुनेलाई ५५ हजार,छैठौं हुनेलाई ४५ हजार र सातौं हुने टिमलाई ३५ हजार नगद पुरस्कार राखिएको आयोजकले जनाएको छ ।
प्रतियोगितामा चार विधामा उत्कुष्ट हुने खेलाडीले यु एम स्कुटर पाउनेछन् । उत्कृष्ट खेलाडी ,उदयमान, बर्ष खेलाडी र प्लेयर अफ द सिरिज बन्ने खेलाडीले स्कुटर पाउनेछन् । त्यस्तै भाग्यशाली एक दर्शक र ग्रेट एचिभमेन्ट अवार्ड विजेतालाई एक एक थान मोटरसाइकल प्रदान गरिने छन् ।