काठमाडौं । साविक विजेता एपीएफ क्लब र न्यु डायमन्ड स्पोर्ट्स क्लबले १५ औं संस्करणको सानमिगेल ढोरपाटन महिला डबल लिग भलिबल च्याम्पियनसिपमा विजयी सुरुवात गरेका छन् ।
नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको भलिबल कोर्टमा बिहिबार भएको खेलमा एपीएफले चुली युवा क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्यो ।
सुखद सुरुवात गर्ने क्रममा एपीएफले चुलीलाई २५-६,२५-५ र २५-१३ को सेटमा पराजित गर्यो ।
यस्तै न्यु डायमन्डले पारा माउन्टलाई ३-१ को सेटमा पराजित गर्दै सुखद सुरुवात गर्यो ।
घुँडाको चोटको कारण मुख्य स्पाइकर प्रतिभा मालीबिना कोर्ट उत्रिएको न्यु डायमन्डले पारा माउन्टलाई २५-५,२१-२५,२५-७ र २५-७ ले पराजित गर्यो ।
त्यस्तै त्रिभुवन आर्मी क्लबले सेब स्कुललाई २५-७,२५-४ र २५-८ को सोझो सेटमा हराएको छ । अर्को खेलमा बुलबुले रारा क्लबले चुलीमाथि २५-१४,२५-१४ र २५-१७ को सेटमा जित निकाल्यो ।
ढोरपाटन स्पोर्ट्स क्लबको आयोजनामा जारी प्रतियोगितामा १० टिमले प्रतिस्पर्धा गरिरहेका छन् ।
माघ २८ गतेसम्म चल्ने प्रतियोगिताको पहिलो चरणको लिगपछि शीर्ष ७ टिम दोस्रो चरणमा पुग्नेछ । दोस्रो चरणको लिगपछि शीर्ष टिमले उपाधि जित्नेछ ।
प्रतियोगिताको विजेताले ४ लाख ५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । त्यस्तै उपविजेतालाई २ लाख ५ हजार र तेस्रो हुनेले १ लाख ५ हजार पाउनेछन् । यस्तै चौथौ हुनेलाई ७५ हजार, पाचौँ हुनेलाई ५५ हजार,छैठौं हुनेलाई ४५ हजार र सातौं हुने टिमलाई ३५ हजार नगद पुरस्कार राखिएको आयोजकले जनाएको छ ।
प्रतियोगितामा चार विधामा उत्कुष्ट हुने खेलाडीले यु एम स्कुटर पाउनेछन् । उत्कृष्ट खेलाडी ,उदयमान, बर्ष खेलाडी र प्लेयर अफ द सिरिज बन्ने खेलाडीले स्कुटर पाउनेछन् । त्यस्तै भाग्यशाली एक दर्शक र ग्रेट एचिभमेन्ट अवार्ड विजेतालाई एक एक थान मोटरसाइकल प्रदान गरिने छन् ।