काठमाडौं । नेपाली राष्ट्रिय महिला भलिबल टिमकी कप्तान अरुणा शाहीले न्यु डाईमण्ड स्पोर्ट्स क्लबबाटै ढोरपाटन महिला डबल लिग भलिबल च्याम्पियनसिप खेल्ने भएकी छिन् ।
पछिल्लो समय घरेलु प्रतियोगिता न्यु डाईमण्डबाट खेलिरहेकी अरुणाले ढोरपाटन महिला लिगमा पनि न्यु डाईमण्डको जर्सी लगाउने भएकी हुन् ।
न्यु डाईमण्डका मुख्य प्रशिक्षक कुमार राईले अरुणाले यस प्रतियोगिता क्लबबाटै खेल्ने जानकारी दिए ।
'अरुणाले ढोरपाटन न्यु डाईमण्डबाटै खेल्छिन् । अरुणा टिमको तयारीमा रहेकी छिन्,' खेलपाटीसँग प्रशिक्षक राईले भने ।
ढोरपाटन स्पोर्ट्स क्लबको आयोजनामा नयाँ बसपार्कमा भोली (बिहिबार) बाट १५ औं संस्करणको च्याम्पियनसिप सुरु हुनेछ ।
तर, न्यु डाईमण्ड यस संस्करणमा मुख्य खेलाडी प्रतिभा मालीबिना खेल्नेछ ।
राष्ट्रिय महिला भलिबल टिमकी स्पाइकर समेत रहेकी प्रतिभा चोटको कारण करिब एक वर्ष टिम बाहिर रहने छिन् ।
प्रतिभाले पाँचौ संकरणको आरबीबी एनभीए राष्ट्रिय महिला-पुरुष क्लब भलिबल च्याम्पियनसिप भलिबलको दौरान घुँडाको चोट बोकेकी थिइन् । गत शुक्रबार एपीएफविरुद्धको फाइनल खेलको दौरान देब्रे घुँडाको चोट बोकेकी थिइन् । उनको घुँडाको चोटको शल्यक्रिया गर्नु पर्ने भएको छ ।
मुख्य स्पाइकर टिम बाहिर रहने भएपनि टिम प्रतियोगिताको लागि तयार रहेको प्रशिक्षक राईले बताए । प्रतिभाको अनुपस्थितिमा न्यु डाईमण्डबाट रिया कुँवर, पनामिका राई, प्रतिक्षा गुरुङ लगायतका खेलाडीले मौका पाउने राईले बताए ।
'डाक्टरहरुले प्रतिभाको अप्रेसन गर्नु पर्छ भनेका छन् । प्रतिभा नहुँदा पनि टिममा अन्य खेलाडीहरु छन् । उनको स्थानमा रिया, पनामिका, प्रतिक्षा जस्ता खेलाडीले खेल्ने छन्,' प्रशिक्षक राईले भने ।
लिगको पहिलो खेलमा बुधबार न्यु डाईमण्डले पारामाउण्टसँग खेल्नेछ ।