काठमाडौं । नेपाली राष्ट्रिय महिला भलिबल टिमकी स्पाइकर प्रतिभा माली करिब एक वर्ष कोर्ट बाहिर रहने भएकी छिन् ।
पाँचौ संकरणको आरबीबी एनभीए राष्ट्रिय महिला-पुरुष क्लब भलिबल च्याम्पियनसिप भलिबलको दौरान घुँडाको चोट बोकेकी प्रतिभा लामो समय कोर्ट बाहिर रहने भएकी हुन् ।
प्रतिभाको उपचार भईरहेको ब्लु क्रस हस्पिटलले प्रतिभाको चोट ठिक हुन कम्तिमा एक वर्ष लाग्ने जनाएको छ ।
ब्लु क्रस हस्पिटलका अर्थोपेडिक सर्जन प्रज्वल मान श्रेष्ठ र घुँडा विषशज्ञ डाक्टर रुपेश बैद्यको टोलीले प्रतिभाको चोट हेरिरहेका छन् ।
न्यू डायमण्ड स्पोर्ट्स क्लबका अध्यक्ष तथा व्यवस्थापक सुनकेशरी मालीले प्रतिभाको घुँडाको लिगामेन्टमा चोट देखिएको र शल्यक्रिया गर्नुपर्ने हुँदा करिब एक वर्ष उनले आराम गर्नु पर्ने खेलपाटीलाई जानकारी दिईन् ।
प्रतिभाको घुँडाको शल्यक्रिया केहि दिनमा हुने समेत अध्यक्ष मालीले जानकारी गराईन् ।
त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा गत शुक्रबार न्यू डायमण्ड स्पोर्ट्स क्लबकी प्रतिभाले एपीएफविरुद्धको फाइनल खेलको दौरान देब्रे घुँडाको चोट बोकेकी थिइन् ।
फाइनलको तेस्रो सेटको दौरान प्रतिभाले चोट बोकेकी थिइन् । एपीएफविरुद्ध स्पाइक गर्ने क्रममा प्रतिभा लड्न पुगेकी थिइन् । चोट बोकेपछि उनलाई तत्काल अस्पताल लगिएको थियो ।