काठमाडौं । हेल्प नेपाल स्पोर्ट्स क्लब र एपीएफ क्लबले पाँचौ संकरणको आरबीबी एनभीए राष्ट्रिय पुरुष-महिला क्लब भलिबल च्याम्पियनसिपको उपाधि जितेका छन् ।
त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा शुक्रबार हेल्प नेपालले पुरुषतर्फ र एपीएफले महिलातर्फको उपाधि जितेको हो ।
पुरुषतर्फको फाइनलमा विभागीय टिम एपीएफ क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै हेल्प नेपाल च्याम्पियन बनेको हो ।
तीन भारतीय खेलाडीसहित कोर्ट उत्रिएको हेल्प नेपालले एपीएफमाथि २५-१७,२५-१४ र २५-२० को सेटमा जित निकाल्यो ।
पुरुषतर्फ त्रिभुवन आर्मी क्लब तेस्रो भयो । आर्मीले तेस्रो स्थानको लागि भएको खेलमा नेपाल पुलिस क्लबलाई ३-० को सेटमा पराजित गर्यो ।
आर्मीले पुलिसमाथि २५-१८, २५-१८ र २५-२० को सेटमा जित निकालेको थियो ।
महिलातर्फको उपाधि जिते क्रममा एपीएफले चिरपरिचित प्रतिद्वन्द्वी न्यू डायमण्ड स्पोर्ट्स क्लबलाई ३-१ को सेटमा पराजित गर्यो ।
लगातार दोस्रो वर्ष च्याम्पियन बन्ने क्रममा एपीएफले न्यू डायमण्डमाथि २५-२३, २५-२१, र २५-१८ को सेटमा जित निकाल्यो ।
महिलातर्फ पनि त्रिभुवन आर्मी क्लब तेस्रो भयो । आर्मीले तेस्रो स्थानको लागि भएको खेलमा नेपाल पुलिस क्लबलाई ३-० को सेटमा पराजित गरेको हो ।
आर्मीले पुलिसमाथि २५-२२, २५-१३ र २५-२१ को सेटमा जित निकालेको थियो ।
प्रतियोगिताको महिला र पुरुष दुवैको विजेताले २ लाख पुरस्कार प्राप्त गरे । यस्तो दोस्रोले १ लाख र तेस्रोले ५० हजार प्राप्त गरेका छन् ।
नेपाल भलिबल संघले आयोजना गरेको प्रतियोगिताको पुरुषतर्फ १० टिम र महिलातर्फ ७ टिमको सहभागिता रहेको थियो ।