काठमाडौं । सशत्र प्रहरीको एपीएफ क्लबले पाँचौ संकरणको आरबीबी एनभीए राष्ट्रिय महिला-पुरुष क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत महिलातर्फको उपाधि जितेको छ ।
त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा शुक्रबार भएको फाइनलमा चिरपरिचित प्रतिद्वन्द्वी न्यू डायमण्ड स्पोर्ट्स क्लबलाई ३-१ को सेटमा पराजित गर्दै एपीएफ च्याम्पियन बनेको हो ।
लगातार दोस्रो वर्ष च्याम्पियन बन्ने क्रममा एपीएफले न्यू डायमण्डमाथि २५-२३, २५-२१, २३-२५ र २५-१८ को सेटमा जित निकाल्यो ।
बलियो टिम एपीएफले सुरुवाती दुई सेटमा लगातार जित निकालेपनि तेस्रो सेट भने गुमाएको थियो । यस्तै खेलको दौरान न्यू डायमण्डकी स्पाइकर प्रतिभा मालीले चोट बोकिन् ।
तेस्रो सेटको अन्तिममा स्पाइक गर्ने क्रममा प्रतिभा लड्न पुगेकी थिइन् । उनको घुँडामा चोट लागेको छ । चोट बोकेपछि उनलाई तत्काल अस्पताल लागिएको थियो ।
उपाधिसँगै एपीएफले एपीएफले २ लाख प्राप्त गरेको छ । उपविजेता बनेको न्यू डायमण्डले १ लाख प्राप्त गर्यो ।
प्रतियोगितामा त्रिभुवन आर्मी क्लब तेस्रो भयो । आर्मीले तेस्रो स्थानको लागि भएको खेलमा नेपाल पुलिस क्लबलाई ३-० को सेटमा पराजित गरेको थियो ।
आर्मीले पुलिसमाथि २५-२२, २५-१३ र २५-२१ को सेटमा जित निकालेको थियो । तेस्रो भएसँगै आर्मीले ५० हजार प्राप्त गरेको छ ।
नेपाल भलिबल संघले आयोजना गरेको प्रतियोगिताको महिलातर्फ ७ टिमको सहभागिता रहेको थियो ।