काठमाडौं । राजधानीमा जारी पाँचौ संकरणको आरबीबी एनभीए राष्ट्रिय महिला-पुरुष क्लब भलिबल च्याम्पियनसिपको फाइनल खेल आज शुक्रबार हुँदैछ ।
त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा हुने पुरुषको फाइनलमा विभागीय टिम एपीएफ क्लब र हेल्प नेपाल स्पोर्ट्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । पुरुषतर्फको फाइनल खेल दिउँसो ४ बजे हुनेछ ।
एपीएफले सेमिफाइनलमा साविक विजेता त्रिभुवन आर्मी क्लबलाई ३-० को सोझो सेटमा हराएको थियो । हेल्पले नेपाल पुलिस क्लबलाई पनि ३-० को सेटमा हराएको थियो ।
पुरुषको तेस्रो स्थानका लागि आर्मी र पुलिस क्लबबीच बिहान १० बजे प्रतिस्पर्धा हुनेछ ।
महिलातर्फको फाइनलमा साविक विजेता एपीएफ क्लब र न्यू डायमण्ड स्पोर्ट्स क्लबबीच खेल हुनेछ । महिलाको फाइनल खेल अपरान्ह २ बजे सुरु हुनेछ ।
अपरान्ह १२ बजे महिलाको तेस्रो स्थानका लागि आर्मी र पुलिसबीच खेल हुनेछ । सेमिफाइनलमा एपीएफले पुलिस र न्यू डायमण्डले आर्मीलाई हराएको थियो ।
नेपाल भलिबल संघले आयोजना गरेको प्रतियोगिताको महिला र पुरुष दुवैको विजेताले २ लाख पुरस्कार पाउने छन् । यस्तो दोस्रोले १ लाख र तेस्रोले ५० हजार पाउने छन् ।
महिला र पुरुषको सर्वोकृष्ट खेलाडीले २५/२५ हजार पाउने छन् । यस्तै उत्कृष्ट स्पाइकर, लिब्रो, सरभर,बल्कर, लिफ्टर र प्रशिक्षकले जनही १०/१० हजार पाउने छन् ।